मोदी–भान्स फोनवार्ता : भारत–अमेरिका सम्बन्धदेखि होर्मुज संकट र रुसी तेलसम्म छलफल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच फोनवार्ता भएको छ।
वार्ताका क्रममा भारत–अमेरिकाबीचको ‘व्यापक वैश्विक रणनीतिक साझेदारी’लाई विभिन्न क्षेत्रमा थप सुदृढ बनाउने उपायबारे छलफल भएको मोदीले बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत फोनवार्ताबारे जानकारी दिँदै मोदीले भारत–अमेरिका सम्बन्धलाई थप गहिरो बनाउने विषयमा भान्ससँग छलफल भएको बताएका हुन्।
मोदीले भान्स र उनकी पत्नी उषा भान्सलाई छोरा जन्मिएकोमा बधाईसमेत दिएका छन्। उनले भान्स दम्पतीलाई बधाई दिँदै परिवारको सुख, समृद्धि र सफलताको कामना गरेको उल्लेख गरेका छन्।
मोदी–भान्सबीचको वार्ता मध्यपूर्वमा बढ्दो तनावका बीच भएको हो। अमेरिकी उपराष्ट्रपति भान्सले अमेरिकाले होर्मुज जलडमरूमध्यबाट व्यावसायिक जहाजको सुरक्षित आवतजावतका लागि मार्ग खुला गराउने प्रयास गरिरहेको बताएका थिए ।
फक्स न्युजको कार्यक्रममा बोल्दै भान्सले इरानसँग व्यावसायिक जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धतासहित जलडमरूमध्यबाट तेलको अधिकतम प्रवाह सुनिश्चित गर्ने विषयमा छलफल भइरहेको बताएका थिए।
उनका अनुसार इरानले होर्मुज जलडमरूमध्यबाट अधिकतम मात्रामा तेल बाहिर जान दिने संकेत गरेको छ। यद्यपि, अमेरिकाले इरानको प्रतिबद्धतामाथि पूर्ण विश्वास भने नगरेको भान्सले बताएका छन्।
यसैबीच, अमेरिकी सिनेटले रुसबाट तेल तथा ग्यास खरिद गरिरहने देशमाथि कडा आर्थिक दबाब सिर्जना गर्न सक्ने विधेयक पारित गरेको छ। शुक्रबार सिनेटले ‘लिन्ड्से ओ. ग्राहम सेन्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ लाई ८६–११ मतले पारित गरेको हो।
विधेयकले रुसी तेल वा प्राकृतिक ग्यासका प्रमुख पाँच खरिदकर्तामाथि आवश्यक परे १०० प्रतिशतसम्म अतिरिक्त भन्सार लगाउने अधिकार अमेरिकी राष्ट्रपतिलाई दिन सक्ने व्यवस्था गरेको छ।
भारत र चीन रुसी कच्चा तेलका प्रमुख खरिदकर्तामध्ये रहेकाले विधेयक कार्यान्वयनमा आए भारतमाथि समेत अतिरिक्त अमेरिकी करको जोखिम बढ्न सक्नेछ।
विधेयकमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसहित वरिष्ठ राजनीतिक तथा सैन्य अधिकारी, वित्तीय संस्था, ऊर्जा परियोजना तथा रुसको युद्ध प्रयाससँग सम्बन्धित संस्थामाथि थप प्रतिबन्ध लगाउने प्रावधानसमेत समेटिएको छ।
रुस–युक्रेन युद्ध सुरु भएपछि भारतले छुट मूल्यमा उपलब्ध रुसी कच्चा तेलको खरिद उल्लेख्य रूपमा बढाएको छ। ऊर्जा आवश्यकता पूरा गर्न तथा इन्धन आपूर्ति र लागत व्यवस्थापन गर्न भारतले रुसी तेललाई प्राथमिकता दिँदै आएको हो।
होर्मुज जलडमरूमध्यमा उत्पन्न अवरोध तथा मध्यपूर्वमा बढ्दो तनावका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा दबाब बढिरहेका बेला भारतको ऊर्जा सुरक्षामाथि समेत चुनौती थपिएको छ।
भारतले भने आफ्नो ऊर्जा खरिद नीति राष्ट्रिय हित, ऊर्जा सुरक्षा तथा नागरिकलाई सस्तो र भरपर्दो ऊर्जा उपलब्ध गराउने आवश्यकताबाट निर्देशित रहेको बताउँदै आएको छ।
अमेरिकी सिनेटबाट पारित विधेयकले भने भारतसहित रुसी ऊर्जा खरिद गर्ने प्रमुख मुलुकलाई रुसी ऊर्जा खरिद निरन्तरता र अमेरिकी बजारमा पहुँचबीच कठिन निर्णय लिनुपर्ने अवस्थामा पुर्याउन सक्ने देखिएको छ।







