कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी

काठमाडौ । नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।

कांग्रेस सभापति गगन थापाका अनुसार बैठक केही दिनसम्म चल्नेछ। बैठकले पछिल्लो समय पार्टीभित्र देखिएका विषयमा आवश्यक निर्णय गर्नुका साथै आगामी महाधिवेशनको प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

सभापति थापाले केन्द्रीय कार्यसमिति बैठकबाटै पार्टीका सन्दर्भमा गर्नुपर्ने निर्णय गरिने र बैठक दुई–तीन दिनसम्म चल्ने बताएका छन्। उनका अनुसार बैठक सकिएलगत्तै पार्टीको महाधिवेशन प्रक्रिया अघि बढाइनेछ।

यसअघि संस्थापन इतर समूहले आगामी २९ साउनका लागि राष्ट्रिय भेला बोलाएपछि कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकमार्फत पार्टीभित्रका विवाद र आगामी रणनीतिबारे छलफल गर्ने तयारी गरेको हो।

इतर समूहका नेताहरूले पार्टी एकताका लागि नेतृत्वबाट ठोस पहल नभए नयाँ दल गठनसम्मको विकल्प अघि बढाउने बताउँदै आएका थिए। तर, सर्वोच्च अदालतले कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी विवाद पुनरावलोकन गर्ने बाटो खोलेपछि तत्काल पार्टी विभाजनको सम्भावना कमजोर बनेको छ।

बिहीबार प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मासहित न्यायाधीशहरू नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको इजलासले विशेष महाधिवेशनसम्बन्धी विवाद पुनः सुरुदेखि सुनुवाइ गर्न आदेश दिएको थियो।

केन्द्रीय कार्यसमिति बैठकका एजेन्डा तय गर्न शनिबार कांग्रेस पदाधिकारी बैठकसमेत बसेको थियो। कांग्रेसमा केन्द्रीय कार्यसमिति बैठकअघि पदाधिकारी बैठक बसेर एजेन्डा तय गर्ने प्रचलन छ।

आजदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकलाई पार्टीभित्रको पछिल्लो विवाद समाधान, संगठनात्मक निर्णय तथा महाधिवेशनको तयारीका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।