बालेनप्रति योगेश भट्टराईको कटाक्ष: ‘१८२ सांसद, दर्जनौँ मन्त्री हुँदा पनि एक्लै’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह एक्लै परेको आशय झल्किने सामाजिक सञ्जाल पोस्टपछि राजनीतिक वृत्तमा टिकाटिप्पणी भइरहेका बेला नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पनि प्रधानमन्त्रीप्रति कटाक्ष गरेका छन्।
भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाहसँग झन्डै दुईतिहाइ बहुमत, ठूलो सरकारी संयन्त्र र दर्जनौँ मन्त्री हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्ने अवस्था देखिएको भन्दै व्यंग्य गरेका हुन्।
‘१८२ जना प्रतिनिधिसभा सदस्य, एक दर्जनभन्दा बढी मन्त्री, लाखौँलाख सेना, प्रहरी र कर्मचारी, सल्लाहकार र पीए त कति हो कति, तर पनि एक्लै,’ भट्टराईले लेखेका छन्।
उनले विगतका राजनीतिक नेताहरूको उदाहरण दिँदै बीपी कोइराला, मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, मदन भण्डारी र गणेशमान सिंह आफूहरू एक्लै भए पनि जनसमर्थन उनीहरूको पक्षमा रहेको उल्लेख गरेका छन्।
‘बीपी, मनमोहन, कृष्णप्रसाद, मदन भण्डारी र गणेशमान आफू एक्ला थिए, तर जगत् उनीहरूको पक्षमा थियो,’ उनले लेखेका छन्। वर्तमान नेतृत्वप्रति संकेत गर्दै भट्टराईले वरिपरि सबै शक्ति र संरचना हुँदाहुँदै पनि आफूलाई एक्लो ठान्ने अवस्था किन आएको हो भन्दै प्रश्न गरेका छन्।
‘हिजोका अरू र आजकाहरूका वरिपरि सब छ, तर पनि उनीहरू आफूलाई एक्लो ठान्दछन्। किन होला? बुझिनँ मैले, बुझाइदेउ कसैले,’ उनले लेखेका छन्।
भट्टराईको उक्त अभिव्यक्तिलाई प्रधानमन्त्री शाहको पछिल्लो सामाजिक सञ्जाल अभिव्यक्तिप्रतिको राजनीतिक प्रतिक्रिया रूपमा हेरिएको छ।







