ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

User Image Prime TV News एक महिना अगाडि
Image of ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी खटाइने

काठमाडौ । खाना पकाउने ग्यासमा कालोबजारी भइरहेको सूचना पाएपछि गृह मन्त्रालय र उद्योग मन्त्रालयबीचको समन्वयमा काठमाडौं उपत्यकाका विभिन्न ग्यास डिपोमा सादा पोसाकका प्रहरी परिचालन गरिने भएको छ।

भारतबाट ग्यास आयातमा कुनै समस्या नरहे पनि एकाएक कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको भन्दै उद्योग मन्त्रालयमा उपभोक्ताबाट लगातार गुनासो तथा सूचनाहरू प्राप्त हुन थालेपछि यस विषयमा सरकारले चासो लिएको हो । 

ग्यासको आपूर्ति सहज हुँदाहुँदै पनि बजारमा अभाव देखाएर उपभोक्तालाई महँगोमा ग्यास बिक्री गर्ने तथा कृत्रिम अभाव सिर्जना गर्ने गतिविधि नियन्त्रण गर्न उद्योग मन्त्रालयले गृहमन्त्रालय संग अनुगमनकालागि प्रहरीको सहयोग मागेको थियो।

जस अनुसार गृहमन्त्री गुरुङले प्रहरी प्रशासनलाई ग्यास डिपो तथा बिक्री केन्द्रमा निगरानी बढाउन र आवश्यकताअनुसार सादा पोसाकका प्रहरी परिचालन गर्न निर्देशन दिएका थिए । 

सरकारले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, लुकाउने तथा तोकिएको मूल्यभन्दा बढीमा बिक्री गर्ने व्यवसायीमाथि निगरानी बढाउँदै दोषी भेटिए कानुनअनुसार कारबाही गर्ने तयारी गरेको छ। साथै, उपभोक्ताले ग्यास सहज रूपमा पाउने वातावरण सुनिश्चित गर्न अनुगमनलाई थप प्रभावकारी बनाइने बताइएको छ।