हर्मुज खोल्न इरानका पाँच सर्त, अमेरिकामाथि दबाब बढाउँदै तेहरान
Prime TV News एक महिना अगाडि 
काठमाडौ । हर्मुज जलडमरूमध्य पुनः सञ्चालनका लागि इरानले अमेरिकासमक्ष पाँचवटा सर्त अघि सारेको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहम्मद बागेर जोल्घादरले अमेरिकी पक्षले आफ्ना माग पूरा नगरेसम्म महत्वपूर्ण जलमार्ग नखोलिने स्पष्ट पारेका हुन्। इरानले प्रतिबन्धमा राहत, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति, इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने, इरानविरुद्ध धम्की बन्द गर्ने तथा रोक्का गरिएको इरानी सम्पत्ति फिर्ता गर्नुपर्ने माग राखेको छ।
बीबीसी फारसीका अनुसार जोल्घादरका पछिल्ला माग यसअघि इरानले उठाउँदै आएका विषयसँग धेरै हदसम्म मिल्छन्। तर हर्मुजको सञ्चालनलाई अन्य राजनीतिक तथा आर्थिक सर्तसँग जोडेर इरानले वार्तामा आफ्नो अडान थप कडा बनाएको संकेत देखिएको छ।
यसैबीच, इरान र ओमानबीच हर्मुज जलडमरूमध्यको व्यवस्थापन तथा सञ्चालनबारे वार्ता जारी छ। इरानी विदेशमन्त्री अब्बास अराघचीले ओमानसँगको वार्ता अन्तिम चरणमा पुगेको बताएका छन्। यद्यपि, वार्ता निष्कर्षमा पुग्दैमा हर्मुज तत्काल खुल्ने अवस्था नरहेको उनको भनाइ छ।
‘जलमार्ग फेरि खोल्नु अन्य सर्तको अधीनमा छ,’ अराघचीले भनेका छन्। अमेरिकी पक्षले भने हर्मुजबाट व्यावसायिक जहाजको निर्बाध आवतजावत सुनिश्चित हुने सम्झौता भएपछि मात्र इरानी बन्दरगाहमाथिको नाकाबन्दी हटाउने संकेत गरेको छ।
यसअघि रोयटर्सले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै इरान र ओमानबीच हर्मुजसम्बन्धी वार्तामा प्रगति भइरहेको र अमेरिकाले चाँडै सहमति बन्ने अपेक्षा गरेको जनाएको थियो। विश्वको महत्वपूर्ण ऊर्जा तथा व्यापारिक मार्गमध्ये एक मानिने हर्मुज जलडमरूमध्यको आवतजावतमा अवरोध कायम रहेपछि यस विषयले क्षेत्रीय सुरक्षासँगै विश्वव्यापी ऊर्जा आपूर्तिमाथि समेत चासो बढाएको छ।







