अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलियो

User Image Prime TV News एक महिना अगाडि
Image of अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलियो

काठमाडौ । अमेरिकाका पूर्वराष्ट्रपति जो बाइडेनको प्रोस्टेट क्यान्सर हड्डीभन्दा बाहिर पनि फैलिएको उनका छोरा हन्टर बाइडेनले बताएका छन्।

क्यान्सरका कारण बाइडेन अहिले निकै पीडामा रहेको हन्टरको भनाइ छ। बीबीसीको ‘न्युजनाइट’ कार्यक्रममा अन्तर्वार्ता दिँदै हन्टरले क्यान्सर बुबाको हड्डी र त्यसबाहिरको भागमा समेत फैलिएको बताएका हुन्। ‘यो निकै पीडादायी छ र यसले धेरै कमजोर पार्नेछ,’ उनले भने।

बाइडेनले ह्वाइट हाउसबाट बाहिरिएको करिब चार महिनापछि मे २०२५ मा आफूलाई प्रोस्टेट क्यान्सर भएको सार्वजनिक गरेका थिए। त्यसबेला उनले क्यान्सर हड्डीमा फैलिसकेको जानकारी दिएका थिए।

बाइडेन सन् २०२० को राष्ट्रपतीय निर्वाचन जितेर अमेरिकाको राष्ट्रपति बनेका थिए र सन् २०२१ देखि २०२५ सम्म पदमा रहे। उनको राष्ट्रपतीय कार्यकालमै स्वास्थ्य अवस्थालाई लिएर पटक–पटक प्रश्न उठ्दै आएको थियो। बाइडेन हाल ८३ वर्षका छन्।

बीबीसीसँगको अन्तर्वार्ताका क्रममा हन्टर आफ्नो बुबाको स्वास्थ्यबारे कुरा गर्दा पटक–पटक भावुक भएका थिए। उनले आफ्नो बुबा अझै पनि परिवारको केन्द्रमा रहेको बताउँदै भने, ‘उहाँ सबैभन्दा राम्रो बुबा, सबैभन्दा राम्रो पति र सबैभन्दा राम्रो हजुरबुबा हुनुहुन्छ।’