ट्राफिक प्रहरीलाई संसदीय समितिको निर्देशन : ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्नुस्’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिले ट्राफिक प्रहरीलाई नागरिकसँगको व्यवहार सुधार गर्दै बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गर्न निर्देशन दिएको छ ।
आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा गजुरेलले केही ट्राफिक प्रहरीको गल्तीका कारण समग्र संगठन नै बदनाम हुन नहुने भन्दै समितिले यस्तो निर्देशन दिएको हो ।
कतिपय ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने चालकलाई चिट नकाटी आर्थिक लाभ लिएर छाड्ने गरेको गुनासो आउने गरेको उल्लेख गर्दै उनले यस्तो प्रवृत्ति अब स्वीकार्य नहुने समितिले स्पष्ट पारेको छ । निर्देशन दिदै समिति सभापति आशिष गजुरेलले भने ‘अब बोलीमा शुद्धता हुनुपर्यो, व्यवहारमा नम्रता हुनुपर्यो र आर्थिक सुशासन हुनुपर्यो। कसैसँग आर्थिक प्रलोभनमा पर्ने वा आर्थिक लाभ लिने काम हुनुहुँदैन,’ गजुरेलले भने।
उनले ट्राफिक प्रहरीलाई सुरक्षित, प्रविधिमैत्री र आवश्यक सेवा–सुविधासहित अधिकारसम्पन्न बनाउनुपर्ने भए पनि नागरिकसँगको व्यवहार र कर्तव्य निर्वाहमा समेत सुधार आवश्यक रहेको बताए।
समितिले ट्राफिक व्यवस्थापन सुधारका लागि नीति निर्माणसँगै त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जनाएको छ । राष्ट्रिय यातायात नीति, २०८३ मा सुधारका विषय समेटिएको उल्लेख गर्दै उनले अब नीतिलाई व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ ।
ट्राफिक नियम उल्लंघन गरेबापत एक लाखदेखि डेढ लाख रुपैयाँसम्म जरिवाना गर्ने विषयमा छलफल भइरहेको भए पनि यस्तो व्यवस्था हाल कार्यान्वयनमा नआएको समिति सभापतिले स्पष्ट पारे। जरिवाना निर्धारण गर्नुअघि नागरिक तथा सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरिने पनि समितिले जनाएको छ ।







