आर्सनलमा ब्रुनो ग्युमाराईज अनुबन्ध, ७५ मिलियन पाउण्ड खर्च
Prime TV News एक महिना अगाडि 
काठमाडौ । इंग्लिस प्रिमियर लिग विजेता आर्सनलले न्युक्यासल युनाइटेडका कप्तान तथा ब्राजिलियन मिडफिल्डर ब्रुनो ग्युमाराईजलाई अनुबन्ध गरेको छ।
आर्सनलले ग्युमाराईजका लागि ७५ मिलियन पाउण्ड खर्च गरेको हो। उनले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन्। ग्युमाराईजलाई न्युक्यासलले सन् २०२२ मा फ्रेन्च क्लब ओलम्पिक लियोनबाट अनुबन्ध गरेको थियो।
न्युक्यासलमा रहँदा उनले टोलीको महत्वपूर्ण सदस्यका रूपमा प्रदर्शन गर्दै २०२४–२५ सिजनमा ईएफएल कप जिताउन भूमिका खेलेका थिए। ब्राजिलियन मिडफिल्डरले हालसम्म व्यावसायिक फुटबलमा १९५ खेल खेल्दै ३१ गोल गरेका छन्। उनले हालै सम्पन्न फिफा विश्वकप २०२६ मा ब्राजिलको प्रतिनिधित्वसमेत गरेका थिए।
ग्युमाराईजको आगमनसँगै आर्सनलले आगामी सिजन आफ्नो मिडफिल्डलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ। इंग्लिस प्रिमियर लिगको आगामी सिजन अगस्ट २२ देखि सुरु हुँदैछ। आर्सनलले पहिलो खेलमा कोभेन्ट्री सिटीसँग प्रतिस्पर्धा गर्ने तालिका छ।







