सरकार र पार्टीको आधिकारिकताबारे सभापति गगन थापाले के भने ?

User Image Prime TV News एक महिना अगाडि
Image of सरकार र पार्टीको आधिकारिकताबारे सभापति गगन थापाले के भने ?

काठमाडौ । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति नागरिकमा अनिश्चितता, हतास र आक्रोश गरी तीनथरी धारणा रहेको बताएका छन्।

आजदेखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै सभापति थापाले आफूले विभिन्न नागरिकसँग कुराकानी गरिरहेको र उनीहरूको प्रतिक्रियामा सरकारप्रतिको असन्तुष्टि देखिएको बताए।

‘केही नागरिकमा अनिश्चितता भएको पाउँछु। केही नागरिकसँग कुरा गर्दा हिजो राम्रो भएन, आज पनि भएको छैन, भोलि पनि हुँदैन भन्ने हतास भएको पाउँछु। केही नागरिकलाई आक्रोश छ,’ थापाले भने।

नागरिकमा देखिएको यही आक्रोशको अभिव्यक्तिका रूपमा प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिनअघिको सामाजिक सञ्जाल पोस्ट र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको शनिबारको अभिव्यक्तिलाई लिन सकिने थापाको विश्लेषण छ।

तर नागरिकमा बढिरहेको आक्रोशबाट कांग्रेस खुसी हुन नहुने भन्दै उनले पार्टीले यसलाई गम्भीर चिन्ताका रूपमा लिनुपर्ने बताए। थापाले यसअघि आफूले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन कांग्रेस सभापति शेरबहादुर देउवालाई नागरिक कांग्रेससँग रिसाएको विषय ८ भदौमा संसद्मै जानकारी गराएको स्मरण गरे।

त्यसैगरी, उनले कांग्रेस केन्द्रीय समितिको बैठकमा पनि नागरिकले प्रतिरोध गर्न सक्ने सम्भावनाबारे आफूले सचेत गराएको बताए। त्यसबेला आफूले जनताको असन्तुष्टिलाई बेवास्ता नगर्न आग्रह गरे पनि ‘हामीले जितेर आएका छौं’ भन्ने धारणा व्यक्त गरिएको उनको भनाइ थियो।

थापाले भदौ २३ र २४ गतेका घटनाहरू एकाएक सिर्जना नभएको बताए। नागरिकमा लामो समयदेखि जम्मा हुँदै आएको आक्रोशको एकमुष्ट अभिव्यक्ति त्यसपछि फागुन २१ गतेको ब्यालेटमा देखिएको उनको टिप्पणी थियो।

यस्तै बैठकमा सभापति थापाले पार्टीको वैधानिकता र विशेष महाधिवेशन सम्बन्धी सर्वोच्च अदालतको पुनरवलोकन आदेशलाई सहज रूपमा लिएर कानुनी प्रक्रियाको सामना गर्ने बताएका छन्। कांग्रेसका सबै काम विधान अनुसार भएकाले अदालतको आदेशबाट डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै सभापति थापाले कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रूपमा सम्पन्न भएको र निर्वाचन आयोगले समेत कानुनअनुसार त्यसलाई अध्यावधिक गरी अभिलेखीकरण गरिसकेको स्मरण गरे।

‘हाम्रो विशेष महाधिवेशन विधानसम्मत छ। निर्वाचन आयोगले पनि यसलाई कानुनसम्मत ठहर गर्दै अभिलेखीकरण गरिसकेको छ,’ उनले भने। पार्टीका निर्णयप्रति असन्तुष्ट केही व्यक्ति सर्वोच्च अदालत पुगेको र अदालतले यसअघि विशेष महाधिवेशनकै पक्षमा निर्णय दिएको उल्लेख गर्दै थापाले अहिले असन्तुष्ट पक्षले पुनरवलोकन निवेदन दिएको बताए।

‘अहिले असन्तुष्ट पक्ष पुनरवलोकन निवेदन लिएर जानुभएको छ र अदालतले त्यसको अनुमति दिएको छ। यो न्यायिक प्रक्रियाको एउटा पाटो हो,’ थापाले भने।

सर्वोच्चको पछिल्लो आदेशबाट पार्टी विचलित हुनुपर्ने अवस्था नरहेको बताउँदै उनले कांग्रेसले आफ्ना प्रमाणसहित आत्मविश्वासका साथ अदालतमा प्रस्तुत हुने बताए। ‘अदालतमा एक पटक सत्य ठहरिएको कुरा फेरि पनि सत्य नै हुन्छ, हामीलाई न्यायालयप्रति विश्वास छ,’ उनले भने।

थापाले कानुनी लडाइँभन्दा पार्टीका नेता तथा कार्यकर्ता बीचको विश्वास अझ महत्वपूर्ण रहेको पनि बताए। पार्टीको एकता र कार्यकर्ताबीचको भरोसालाई कांग्रेसको सबैभन्दा ठूलो शक्ति भएको उनको भनाइ थियो।

‘हामी कानुनी रूपमा त बलिया छौँ नै, तर त्योभन्दा बढी विश्वास हामीले आफ्ना साथीहरू (कार्यकर्ता) माथि राख्नुपर्छ। पार्टीभित्रको एकता र भरोसा नै हाम्रो सबैभन्दा ठूलो शक्ति हो,’ थापाले भने।