विदेशी राजदूतसँग एक्ला एक्लै भेट्दै प्रधानमन्त्री बालेन, सुरुवात भारतीय राजदूतबाट

User Image Prime TV News एक महिना अगाडि
Image of विदेशी राजदूतसँग एक्ला एक्लै भेट्दै प्रधानमन्त्री बालेन, सुरुवात भारतीय राजदूतबाट

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहले सोमबारदेखि नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुखहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्ने भएका छन्।

यसअघि सामूहिक रूपमा विदेशी राजदूतहरूसँग भेट गरेका प्रधानमन्त्री शाहले अब भने द्विपक्षीय भेटवार्ता अघि बढाउन लागेका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री शाहले सोमबार बिहान भारतीय राजदूत नविन श्रीवास्तवसँग भेटवार्ता गर्नेछन्।

त्यसपछि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ तथा अमेरिका लगायत विभिन्न देशका राजदूतसँग भेट गर्ने तयारी छ। प्रधानमन्त्रीमा नियुक्त भएपछि विभिन्न देशका राजदूतहरूले बधाई तथा शुभकामना दिन भेटका लागि समय माग गरे पनि शाहले तत्काल छुट्टाछुट्टै भेटवार्ता गरेका थिएनन्।

चैत २५ गते उनले भारत, चीन, अमेरिका, बेलायत, जापानलगायत विभिन्न देशका राजदूत तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिसहितलाई सामूहिक रूपमा भेटेका थिए। त्यसपछि जेठ १२ गते नेपालस्थित युरोपेली संघमा आबद्ध देशका गैरआवासीय राजदूत तथा नियोग प्रमुखहरूसँग पनि उनले सामूहिक भेटवार्ता गरेका थिए।

लामो समयदेखि छुट्टै भेटवार्ता टार्दै आएका थिए

सामूहिक भेटपछि पनि विभिन्न देशका राजदूतहरूले प्रधानमन्त्री शाहसँग छुट्टाछुट्टै भेटवार्ताका लागि प्रयास गरेका थिए। तर शाहले त्यस्ता भेटका लागि समय नदिएको कूटनीतिक स्रोतको भनाइ छ।

विदेशबाट नेपाल आएका उच्चस्तरीय कूटनीतिज्ञसँग समेत प्रधानमन्त्रीले भेट नगरेपछि नेपालको कूटनीतिक सम्बन्धबारे प्रश्न उठ्दै आएको थियो। भारतका विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणसमेत प्रधानमन्त्रीसँग भेटवार्ता हुन नसक्ने भएपछि स्थगित भएको दाबी गरिएको छ।

प्रधानमन्त्री शाहलाई विदेशी कूटनीतिज्ञसँग नियमित संवाद अघि बढाउन विभिन्न तहबाट सुझाव दिइँदै आएको थियो। परराष्ट्रमन्त्री शिशिर खनालले समेत भेटवार्ता र विदेश भ्रमणका लागि प्रधानमन्त्रीलाई पटक–पटक आग्रह गरेको बताइएको छ।

यसबीच नेपालको कूटनीतिक सम्बन्धलाई सक्रिय बनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र परराष्ट्रमन्त्री खनाल सक्रिय भएका छन्। लामिछानेले भारतको पाँचदिने भ्रमण गरिसकेका छन् भने खनालले भारत र चीनको भ्रमण गरिसकेका छन्। लामिछाने चीन भ्रमणको तयारीमा रहेको बताइएको छ।

विदेश भ्रमणको बाटो खुल्ने अपेक्षा

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका जाने अपेक्षा गरिए पनि उनी नजाने भएपछि परराष्ट्रमन्त्री खनालले नेपालको प्रतिनिधित्व गर्ने तयारी गरिरहेका छन्। प्रधानमन्त्री शाहलाई भारत र चीनबाट भ्रमणको निम्तोसमेत प्राप्त भएको बताइएको छ।

यद्यपि, हालसम्म उनले विदेश भ्रमण गर्ने निर्णय गरेका छैनन्। अब विदेशी राजदूतसँगको छुट्टाछुट्टै भेटवार्ता सुरु हुनुलाई सरकारले नेपालको कूटनीतिक सम्बन्धलाई थप सक्रिय बनाउने प्रयासका रूपमा लिएको छ।

यी भेटवार्तापछि प्रधानमन्त्री शाहको सम्भावित विदेश भ्रमणका लागि समेत वातावरण बन्ने अपेक्षा गरिएको छ।