रास्वपाका मन्त्रीले महिनामा एकपटक नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाका मन्त्रीले महिनामा एकपटक नागरिकसँग प्रत्यक्ष संवाद गर्नुपर्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई महिनामा कम्तीमा एकपटक नागरिक र पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नुपर्ने व्यवस्था गरेको छ।

रास्वपाका सहमहामन्त्री तथा प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले भदौ महिनादेखि मन्त्रीहरूले पार्टी कार्यालयमा नियमित भेटघाट सुरु गर्ने जानकारी दिएका छन्। शाहद्वारा जारी विज्ञप्तिअनुसार पहिलो चरणमा प्रत्येक भेटघाट अपराह्न ५ बजेदेखि ६ बजेसम्म नागरिकका लागि खुला रहनेछ।

त्यसपछि साँझ ६ बजेदेखि मन्त्री, पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसदबीच संयुक्त बैठक हुनेछ। नागरिक, सरकारका मन्त्री र पार्टीका सांसदबीच समन्वयलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस्तो व्यवस्था गरिएको रास्वपाले जनाएको छ।

पार्टीका अनुसार नियमित प्रत्यक्ष संवादले मन्त्रीहरूलाई नागरिकप्रति थप जवाफदेही र उत्तरदायी बनाउन सहयोग पुग्नेछ। साथै, नागरिकबाट प्राप्त सुझाव, गुनासा र अपेक्षालाई सरकारसम्म पुर्‍याउने माध्यमका रूपमा समेत यो भेटघाटलाई उपयोग गरिने रास्वपाले जनाएको छ ।