ग्यास अभावबारे रास्वपा सांसद तामाङको सरकार बचाउ : ‘एक–दुई दिन ढिला हुँदा सबै खनिनु आवश्यक छ?’

User Image Prime TV News एक महिना अगाडि
Image of ग्यास अभावबारे रास्वपा सांसद तामाङको सरकार बचाउ : ‘एक–दुई दिन ढिला हुँदा सबै खनिनु आवश्यक छ?’

 काठमाडौ । बजारमा खाना पकाउने ग्यासको आपूर्तिमा देखिएको समस्यालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले सरकारको बचाउ गरेकी छन्।

डिपोमा ग्यास वितरणमा केही दिनदेखि भइरहेको ढिलाइलाई लिएर सरकारको आलोचना भइरहेका बेला सांसद तामाङले अहिले देखिएको समस्या क्षणिक र सामान्य प्रकृतिको भएको दाबी गरेकी हुन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विगतमा लामो समयसम्म ग्यास नपाउँदाको अवस्था आफूले भोगेको स्मरण गराएकी छन्। अहिले एक–दुई दिन डिपोमा ग्यास भर्न ढिलाइ हुँदैमा त्यसलाई ठूलो समस्याका रूपमा प्रस्तुत गर्न नहुने उनको भनाइ छ।

‘ग्यासको हाहाकार पहिलेदेखि थियो, एक वर्षसम्म ग्यास नपाएर स्टभमा भात पकाएर खाएको मलाई थाहा छ,’ तामाङले लेखेकी छन्, ‘आज एक–दुई दिन डिपोमा ग्यास भर्न ढिला हुँदा सबै उर्लेर आएको देख्दा अचम्म लाग्छ।’

नेपाल खाना पकाउने ग्यासमा आत्मनिर्भर नभएको र विदेशबाट आयात गर्नुपर्ने अवस्थाका कारण आपूर्तिमा सामान्य ढिलाइ हुन सक्ने उनले बताएकी छन्। विशेषगरी वर्षायाममा आयातित खनिज पदार्थमा आधारित इन्धनको आपूर्ति एक–दुई दिन तलमाथि हुन सक्ने तर्क गर्दै उनले त्यसैलाई लिएर सरकारमाथि एकतर्फी रूपमा आक्रमण गर्न आवश्यक नरहेको बताइन्।

‘ग्यास हाम्रो देशमा छैन, अरू देशमा भएको खनिज पदार्थ ल्याउन बर्खायाममा एक–दुई दिन तलमाथि हुँदा सबै मिलेर खनिनु आवश्यक छ?’ उनले प्रश्न गरेकी छन्।