अतिरिक्त ग्यास नकिन्न एलपी ग्यास उद्योग संघको आग्रह

User Image Prime TV News एक महिना अगाडि
Image of अतिरिक्त ग्यास नकिन्न एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौ । नेपाल एलपी ग्यास उद्योग संघले उपभोक्तालाई आवश्यकता भन्दा बढी खाना पकाउने ग्यास खरिद नगर्न आग्रह गरेको छ।

ग्यास अभाव हुने आशंकामा सिलिन्डर सञ्चय गर्दा बजारमा कृत्रिम अभाव सिर्जना भएको संघको भनाइ छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले विज्ञप्ति जारी गर्दै उपभोक्ताले जगेडा राख्ने वा आवश्यकताभन्दा बढी ग्यास खरिद गर्ने प्रवृत्तिका कारण अत्यावश्यक परेका उपभोक्ताले समेत ग्यास नपाउने अवस्था सिर्जना भएको बताएका छन्।

‘ग्यास अभाव हुने आशंकामा उपभोक्ताहरूमा अनावश्यक रूपमा सिलिन्डर सञ्चय गर्ने, जगेडा राख्ने वा आवश्यकताभन्दा बढी खरिद गर्ने कार्यबाट बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

संघका अनुसार उपभोक्ताले अतिरिक्त ग्यास खरिद नगरे हाल देखिएको अभावको समस्या तत्काल समाधान हुने अवस्था छ। आगामी दिनमा समेत एलपी ग्यासको आपूर्तिमा समस्या नहुने भएकाले अभाव हुने सम्भावना नरहेको अध्यक्ष चन्दले बताएका छन्।

नेपाल आयल निगमको विशेष पहलमा भारतका विभिन्न रिफाइनरीबाट नेपालमा एलपी ग्यासको आयात करिब १५ प्रतिशतले बढेको संघले जनाएको छ। आयात सहज भएसँगै ग्यास उद्योगहरूले सिलिन्डर रिफिलिङ गरी बजारमा पठाउने काम पनि निरन्तर भइरहेको संघको भनाइ छ। संघले विक्रेताहरूलाई पनि घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।

संघले आपूर्ति सहज रहेको दाबी गर्दै उपभोक्तालाई अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र बजारमा कृत्रिम अभाव सिर्जना हुने अवस्था नबनाउन आग्रह गरेको हो।