कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुन सक्ने संकेत

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसको असन्तुष्ट पक्षको राष्ट्रिय भेला स्थगित हुन सक्ने संकेत

काठमाडौ । नेपाली कांग्रेसको असन्तुष्ट पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्न लागेको राष्ट्रिय भेला स्थगित हुन सक्ने संकेत देखिएको छ।

शीर्ष नेताहरू भेलाको तयारीमा जुटिरहेका बेला असन्तुष्ट पक्षकै पूर्वकेन्द्रीय सदस्य किरण पौडेलले पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनमा भेला स्थगित हुन सक्ने बताएका हुन्। पौडेलले ‘पूर्वसभापति शेरबहादुर देउवाको निर्देशनअनुसार राष्ट्रिय भेला स्थगित हुन सक्छ’ भन्दै भेलाको सम्भावित स्थगनबारे जानकारी दिएका छन्।

विशेष महाधिवेशनलाई वैधता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने यसअघिको सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकन हुने भएपछि असन्तुष्ट पक्षले राष्ट्रिय भेलामा थप नेता तथा कार्यकर्ता सहभागी गराउने तयारी गरिरहेको थियो।

भेलालाई लक्षित गर्दै विभिन्न ३२ वटा समितिले तयारी गरिरहेको बताइएको छ। पार्टीभित्रको पछिल्लो राजनीतिक तथा कानुनी घटनाक्रमका कारण भने भेलाको मिति अन्योलमा परेको हो। यद्यपि, कांग्रेस असन्तुष्ट पक्षका नेता डा. प्रकाशशरण महतले भने राष्ट्रिय भेला स्थगित नहुने दाबी गरेका छन्।

उनका अनुसार साउन २९ देखि ३१ गतेसम्मका लागि तय गरिएको भेला पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सञ्चालन हुनेछ। यससँगै राष्ट्रिय भेलालाई लिएर कांग्रेसभित्रै दुईथरी धारणा देखिएको छ। एक पक्षले पूर्वसभापति देउवाको निर्देशनमा कार्यक्रम स्थगित हुन सक्ने बताइरहेको छ भने अर्को पक्षले तयारीअनुसार भेला सञ्चालन हुने दाबी गरेको छ।