प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा बैठकमा चार विधेयक प्रस्तुत हुँदै, दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौ । संघीय संसद्को प्रतिनिधिसभाको सोमबार बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत हुने भएका छन्।

दिउँसो १ बजे बस्ने बैठकमा दुई मन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रमसमेत राखिएको छ। संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकको सुरुवातमा मन्त्रालयगत प्रश्नोत्तर हुनेछ।

परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिनेछन्। त्यसपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नेछिन्। त्यस्तै युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यक्रम छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुनमन्त्री गौतमले थप दुईवटा प्रस्ताव पनि अघि बढाउनेछिन्। उनले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यस्तै, प्रधानमन्त्रीको तर्फबाटै गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि छलफल गरी पारित गर्न प्रस्ताव प्रस्तुत गर्नेछिन्। यसरी सोमबारको प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको प्रक्रिया अघि बढाउनुका साथै सांसदहरूले दुई मन्त्रालयसँग सम्बन्धित विषयमा सरकारसँग प्रत्यक्ष प्रश्नोत्तर गर्नेछन्।