बेपत्ता दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला फेला

User Image Prime TV News एक महिना अगाडि
Image of बेपत्ता दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला फेला

काठमाडौ । काभ्रेको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट बेपत्ता भएका दम्पतीमध्ये वृद्धाको शव ओखलढुंगामा फेला परेको छ।

मण्डनदेउपुर नगरपालिका–७ निवासी ६७ वर्षीया तिलकुमारी पराजुलीको शव ओखलढुंगाको हर्कपुरस्थित सुनकोशी नदी किनारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी निरीक्षक कविन राईका अनुसार सुनकोशीमा फेला परेको शवको फोटो तथा हुलिया काभ्रेमा रहेका आफन्तलाई पठाइएको थियो।

आफन्तले शव तिलकुमारीकै भएको पहिचान गरेको प्रहरीले जनाएको छ। ‘हामीले बेपत्ता भएका आफन्तलाई शवको फोटो पठाउँदा उहाँहरूले पुष्टि गर्नुभएको छ,’ प्रहरी निरीक्षक राईले भने। थप औपचारिक पहिचानका लागि तिलकुमारीका आफन्त ओखलढुंगा पुगेका छन्।

तिलकुमारीका श्रीमान् ६८ वर्षीय केदारनाथ पराजुलीको अवस्था भने अझै अज्ञात छ। केदारनाथले तिलकुमारीलाई पिठ्युँमा बोकेर दोलालघाटबाट नदीमा हाम फालेको प्रारम्भिक विवरण प्रहरीले जनाएको छ। पराजुली दम्पती बुधबार साँझदेखि दोलालघाटबाट बेपत्ता भएका थिए। उनीहरूको खोजीका लागि काभ्रे प्रहरीले टोली परिचालन गरेको थियो।

यता जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले पनि सुनकोशी नदी किनारमा शव फेला परेको पुष्टि गरेको छ। डीएसपी राज महर्जनका अनुसार स्थानीयले नदी किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

‘हामीले शवको फोटो काभ्रेलाई पठाएका थियौँ। काभ्रेबाट बेपत्ता वृद्धाको भनेर सनाखत गर्नुभएको छ। उहाँहरू आएपछि मात्रै आधिकारिक पुष्टि हुन्छ,’ डीएसपी महर्जनले बताए। केदारनाथको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।