भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री जोशी अब जेल बस्न नपर्ने

User Image Prime TV News एक महिना अगाडि
Image of भ्रष्टाचारमा दोषी ठहर पूर्वमन्त्री जोशी अब जेल बस्न नपर्ने

काठमाडौ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका पूर्वमन्त्री गोविन्दराज जोशीले अब जेल बस्न नपर्ने भएको छ।

विशेष अदालतले ज्येष्ठ नागरिकले पाउने कैद छुटसम्बन्धी व्यवस्थाअनुसार उनलाई बाँकी कैद भुक्तान गर्न नपर्ने आदेश दिएको हो। सर्वोच्च अदालतबाट दुई वर्षअघि नै भ्रष्टाचार मुद्दामा दोषी ठहर भई कैद र जरिवाना तोकिएका जोशी शुक्रबार कैद छुटको माग गर्दै विशेष अदालतमा उपस्थित भएका थिए।

तीन सदस्यीय इजलासमा न्यायाधीश नारायणप्रसाद पौडेल र उमेश कोइरालाको बहुमत रायका आधारमा जोशीले कारागारमा नबसी कैद छुट पाउने निर्णय भएको हो। जोशीले ज्येष्ठ नागरिकका लागि रहेको कैद छुटको सुविधा माग गर्दै असार २४ गते निवेदन दिएका थिए।

७५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउने कानुनी व्यवस्था छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका क्रममा आफू ३ महिना १७ दिन थुनामा बसिसकेको उल्लेख गर्दै उनले बाँकी कैद छुटको माग गरेका थिए।

तर कैद छुटका लागि सम्बन्धित व्यक्ति पहिले कारागारमा बसेर निवेदन दिनुपर्ने हो कि कारागार नगई पनि यस्तो सुविधा पाउन सक्ने हो भन्ने विषयमा न्यायाधीशबीच मतभेद देखिएको थियो । न्यायाधीश पौडेल र कोइरालाले कारागारमा नबसे पनि कानुनी व्यवस्थाअनुसार कैद छुट पाउन सक्ने राय राखेका थिए।

अर्का न्यायाधीश हेमन्त रावलले भने कैद छुटका लागि पहिले कारागारमा बसेर निवेदन दिनुपर्ने राय दिएका थिए। दुई न्यायाधीशको बहुमतका आधारमा जोशीको पक्षमा आदेश भएको हो।

सर्वोच्चले घटाएको थियो सजाय

सर्वोच्च अदालतले २०८१ साउन १३ गते जोशीलाई ९ महिना कैद र ६९ लाख २६ हजार २३८ रुपैयाँ जरिवाना तोकेको थियो। सर्वोच्चबाट सजाय निर्धारण भए पनि जोशीले उक्त कैद भुक्तान गरेका थिएनन्। यसअघि विशेष अदालतले २०६९ साउन १० गते जोशीलाई १ वर्ष ६ महिना कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ ४१ पैसा जरिवाना सुनाएको थियो।

विशेष अदालतको फैसलाको करिब १२ वर्षपछि सर्वोच्च अदालतले फैसला केही उल्ट्याउँदै जोशीको कैद र जरिवाना दुवै घटाएको थियो। अख्तियारको अनुसन्धानका क्रममा ३ महिना १७ दिन थुनामा बसिसकेका जोशीले अब ज्येष्ठ नागरिकसम्बन्धी कैद छुटको सुविधा पाएपछि बाँकी कैद पनि कारागारमा नबसी भुक्तान भएको मानिने भएको छ।