प्रतिनिधि सभाको बैठक आज, विभिन्न विधेयक प्रस्तुत र छलफल हुने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ।
संघीय संसद सचिवालयका अनुसार बैठकमा दुई मन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्रालय तथा युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिनेछन्।
त्यसपछि व्यवस्थापन कार्यअन्तर्गत विभिन्न विधेयक प्रस्तुत तथा छलफल गर्ने कार्यसूची रहेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष दशौं संशोधन विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ प्रस्तुत गर्नेछन्। त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ।
मन्त्री गौतमले नै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी पहिलो संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।
बैठकमा नेपाल विशेष सेवा ऐन, २०४२ को साविक व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित छलफल गर्ने प्रस्ताव पनि पेस हुनेछ।
उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्तावसमेत मन्त्री गौतमले नै प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ। प्रतिनिधि सभाको आजको बैठकमा प्रश्नोत्तरदेखि महत्वपूर्ण विधेयक निर्माण तथा पारित गर्ने प्रक्रियासम्मका विषय समेटिएका छन्।







