आज देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना
Prime TV News एक महिना अगाडि 
काठमाडौ । देशका विभिन्न स्थानमा आज भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो भारी वर्षा हुने र रातिको समयमा केही स्थानमा धेरै भारी वर्षा हुन सक्ने देखिएको छ।
विभागका अनुसार राति कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ। यस्तै, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रमा केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। पहाडी भूभागका धेरै स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्नेछ।
काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भूभागका साथै वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ। विभागका अनुसार अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेको छ।
वर्षाका कारण केही स्थानमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिएको छ।







