कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

हिजो देखि बैठकमा सबै एजेन्डामाथि छलफल पूरा हुन नसकेपछि बैठक आज लागि पुनः बोलाइएको हो।पार्टी सभापति गगनकुमार थापाको अध्यक्षतामा बसेको आइतबारको बैठकमा १५औँ महाधिवेशनको तयारी, सरकारका गतिविधि तथा प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिलगायत समसामयिक विषयमा छलफल सुरु भएको थियो।

बैठकमा सभापति थापाले समसामयिक राजनीतिक अवस्था र प्रस्तावसँग सम्बन्धित विषयबारे जानकारी गराएका थिए भने महामन्त्री प्रदीप पौडेलले विभिन्न प्रस्ताव छलफलका लागि प्रस्तुत गरेका थिए।

कांग्रेसको १५औँ महाधिवेशन तयारीका क्रममा नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक तथा वितरण, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठन लगायतका विषय बैठकमा छलफलका लागि अघि सारिएका छन्।

त्यस्तै महाधिवेशनका लागि प्रचारप्रसार, भोजन तथा आवास, मञ्च व्यवस्थापनलगायत उपसमिति गठन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिका निर्णय अनुमोदन गर्ने विषय पनि एजेन्डामा छन्।

बैठकमा पछिल्लो समय तराई–मधेशमा विकसित घटनाक्रम र सामाजिक सद्भाव कायम गर्ने विषयमा समेत छलफल सुरु भएको छ। सरकारको १०० दिनपछिका गतिविधिको समीक्षा तथा प्रमुख प्रतिपक्षी दलका रूपमा संसद् र संसद् बाहिर कांग्रेसले खेल्ने भूमिकाबारे पनि छलफल हुने बताइएको छ।

यसैगरी प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थिति, सदस्यता व्यवस्थापन सम्बन्धी केन्द्रीय समितिका निर्णय अनुमोदन, नेपाली जनसम्पर्क समिति, समसामयिक राजनीतिक विषय तथा भ्रातृ संस्थाहरूको विधानसँग सम्बन्धित विषय पनि बैठकका एजेन्डामा समेटिएका छन्।

आइतबार बाँकी रहेका विषयमा सोमबारको बैठकमा थप छलफल गरी आवश्यक निर्णय लिने कांग्रेसको तयारी छ।