साउनको अन्तिम सोमबार, पशुपतिनाथ सहित शिवालयमा भक्तजनको घुइँचो

User Image Prime TV News एक महिना अगाडि
Image of साउनको अन्तिम सोमबार, पशुपतिनाथ सहित शिवालयमा भक्तजनको घुइँचो

काठमाडौ । साउन महिनाको अन्तिम सोमबार आज देशभरका शिवालयमा श्रद्धालुको भीड लागेको छ।

काठमाडौंको पशुपतिनाथ मन्दिरसहित विभिन्न शिवालयमा बिहानैदेखि भक्तजनहरू पूजाआजा र दर्शनका लागि पुगेका छन्। साउनका प्रत्येक सोमबार व्रत बसेर भगवान शिवको पूजा गर्दै आएका महिलाले आज विधिपूर्वक व्रत समापन गर्दैछन्।

अन्य सोमबार व्रत बस्न नसके पनि साउनको अन्तिम सोमबार व्रत बसेर शिवको पूजा आराधना गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वासका कारण पनि आज ठूलो संख्यामा भक्तजन शिवालय पुगेका छन्।

साउनको सोमबार भगवान शिवको प्रिय दिन मानिने भएकाले यस दिन व्रत, पूजापाठ, दान तथा धार्मिक गतिविधि गर्ने परम्परा छ। आज देशभरका शिवालयमा बोलबम तीर्थालुको समेत विशेष घुइँचो देखिएको छ।

बोलबम तीर्थालुले काठमाडौंको सुन्दरीजलबाट जल ल्याएर पशुपतिनाथमा चढाउने र पूजा आराधना गर्ने गरेका छन्। पशुपतिनाथसँगै भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको महादेवका रूपमा चिनिने हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर तथा कलानेश्वर र दाङको धारपानीलगायतका शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।

चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा समेत साउनको अन्तिम सोमबार पूजा आराधना गर्ने तथा बोलबम मेला भर्न जाने श्रद्धालुको चहलपहल बढेको छ।

सोमप्रदोष व्रतको संयोग

यस वर्ष साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको समेत संयोग परेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। सोमबारकै दिन त्रयोदशी तिथि परेमा त्यसलाई सोमप्रदोष भनिन्छ।

प्रदोषकाल अर्थात् सूर्यास्त आसपासको समय भगवान शिवको पूजा आराधनाका लागि विशेष शुभ मानिन्छ। यस अवसरमा शिव मन्दिरमा दीप प्रज्वलनसहित पूजा गरे सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक विश्वास छ।

सोमप्रदोषका दिन दूध, दही, घ्यू र बेलपत्रले भगवान शिवको पूजा गर्ने तथा पहेँलो वस्तु चढाउने परम्परा पनि रहेको धर्मशास्त्रका जानकारहरू बताउँछन्।