लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग अवरुद्ध
Prime TV News एक महिना अगाडि 
काभ्रे । अविरल वर्षासँगै सडकमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आइतबार साँझदेखि परेको लगातार वर्षाका कारण सोमबार बिहान करिब ४ बजे रोशी गाउँपालिका–९ अन्तर्गत पिन्थली र नार्के क्षेत्रमा सडक माथिबाट लेदोसहितको पहिरो खसेको हो।
पहिरोका कारण बीपी राजमार्गमा सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको काभ्रेका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए।
उनका अनुसार सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वय गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। वर्षा निरन्तर भइरहेकाले पहिरो पन्छाउने काममा समेत चुनौती देखिएको प्रहरीले जनाएको छ।
प्रहरीले बीपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुलाई सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ।
यसैबीच, बर्खा सुरु भएयता बीपी राजमार्गमा रातको समयमा सवारी आवागमन पूर्ण रूपमा बन्द हुँदै आएको छ। वर्षाका कारण सडकमा पहिरो तथा लेदो थुप्रिने क्रम बढेकाले यात्रामा थप जोखिम हुन सक्ने प्रहरीले जनाएको छ।







