रोपाइँ सकिँदा समेत किसानले मल पाएनन् : प्रचण्ड
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पूर्वप्रधानमन्त्री तथा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोपाइँको समयमा समेत सरकारले किसानलाई पर्याप्त रासायनिक मल उपलब्ध गराउन नसकेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत प्रचण्डले रोपाइँ सकिँदासमेत मधेससहित देशका विभिन्न भागमा रासायनिक मलको सहज आपूर्ति हुन नसक्दा किसानहरू ठूलो समस्यामा परेको बताएका छन्। सरकारले समयमा नै रासायनिक मलको पर्याप्त आपूर्ति गर्ने प्रतिबद्धता जनाए पनि व्यवहारमा आपूर्ति सहज हुन नसकेको उनको भनाइ छ।
उपलब्ध मलसमेत कालोबजारी र बिचौलियाका कारण किसानसम्म समन्यायिक रूपमा पुग्न नसकेको गुनासो व्यापक रूपमा आइरहेको उनले उल्लेख गरेका छन्। नेपालमा मल आयातको प्रक्रिया जटिल रहेकाले समयमै पूर्वतयारी आवश्यक हुने प्रचण्डले बताएका छन्।
आफ्नो नेतृत्वको तत्कालीन सरकारले मल आयात तथा वितरणको गम्भीरता बुझेर समयमै मल आपूर्ति र वितरण गर्नुका साथै आगामी आर्थिक वर्षका लागि बजेटसमेत सुनिश्चित गरेको उनको दाबी छ। प्रचण्डले रासायनिक मलको आपूर्ति सहज बनाउन सरकारको गम्भीर ध्यानाकर्षणसमेत गराएका छन्।
उनले मल आयात प्रक्रिया यथाशीघ्र सम्पन्न गरी पर्याप्त मलको आपूर्ति सुनिश्चित गर्न, आगामी वर्षका लागि समेत आवश्यक तयारी गर्न तथा कालोबजारी र बिचौलियामाथि प्रभावकारी नियन्त्रण गर्न सरकारलाई आग्रह गरेका छन्।
किसानलाई सहज, पारदर्शी र समन्यायिक रूपमा मल वितरणको व्यवस्था मिलाउनसमेत उनले सरकारसँग माग गरेका छन्।







