कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका सभापतिलाई बोलाइयो

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा प्रदेश, जिल्ला र निर्वाचन क्षेत्रका सभापतिलाई बोलाइयो

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेलामा पार्टीका प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापतिलाई सहभागी हुन आह्वान गरेको छ।

भेलामा सातै प्रदेशका सभापति, ७७ वटै जिल्ला सभापति र १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समितिका सभापतिलाई सहभागिताका लागि पत्राचार गरिएको प्रचार–प्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए।

उनका अनुसार सहभागीलाई आफू उपस्थित हुनका साथै आफ्नो क्षेत्रमा पार्टीका विभिन्न निकायको नेतृत्व गरिरहेका तथा यसअघि नेतृत्व गरिसकेकाहरूलाई समेत भेलामा सहभागी गराउन आग्रह गरिएको छ।

पार्टीको आन्तरिक सुदृढीकरण तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने उद्देश्यले निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइराला समूहले तीनदिने राष्ट्रिय भेला आयोजना गर्न लागेको हो।

विश्वकर्माका अनुसार पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्मका नेता तथा कार्यकर्ताको राय लिने उद्देश्यले भेलामा व्यापक सहभागिता सुनिश्चित गर्न लागिएको हो। भेलामा महाधिवेशन प्रतिनिधि, पूर्वकेन्द्रीय पदाधिकारी तथा सदस्य, पूर्वमन्त्री, सांसद र प्रदेशसभा क्षेत्रीय समितिका पदाधिकारीलाई समेत सहभागी गराइने उनले बताए।

त्यसैगरी महानगरपालिका, नगरपालिका तथा गाउँपालिका समितिका सभापतिहरूलाई समेत भेलामा सहभागी गराउन आवश्यक वातावरण बनाइदिन सम्बन्धित क्षेत्रका पार्टी नेतृत्वलाई आग्रह गरिएको छ। भेलामा पार्टीको संगठन सुदृढीकरण, आन्तरिक व्यवस्थापन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।