सीटीईभीटीका करार तथा ज्यालादारी कर्मचारीद्वारा केन्द्रीय कार्यालय घेराउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत देशभरका ६७ वटा आङ्गिक शिक्षालयमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीले केन्द्रीय कार्यालय, सानोठिमी घेराउ गरेका छन्।
साउन १४ गतेदेखि देशभरका ६७ वटै आङ्गिक शिक्षालयमा विभिन्न चरणका आन्दोलनका कार्यक्रम सञ्चालन गर्दै आएका कर्मचारीले आफ्ना मागप्रति सीटीईभीटी व्यवस्थापनले कुनै सुनुवाइ नगरेपछि पूर्वघोषित कार्यक्रमअनुसार आजदेखि केन्द्रीय कार्यालय घेराउ गरेका हुन्।
आन्दोलनमा देशभरबाट करिब २ हजार २०० करार तथा ज्यालादारी कर्मचारी सहभागी रहेको बताइएको छ। कर्मचारीले लामो समयदेखि समान प्रकृतिको काम गर्दै आए पनि स्थायी तथा अन्य कर्मचारीको तुलनामा सेवा–सुविधा र पारिश्रमिकमा विभेद गरिएको भन्दै न्यायोचित व्यवस्था गर्न माग गरेका छन्।
उनीहरूले ‘समान कामका लागि समान ज्याला’ लागू गर्नुपर्ने मागसहित स्थानीय भत्ता, दुर्गम भत्ता, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा तथा पेशागत स्थायित्वको व्यवस्था गर्नुपर्ने माग राखेका छन्।
करार तथा ज्यालादारी केन्द्रीय सङ्घ समितिका सह–संयोजक इन्जिनियर युकेश गौतमले साउन १४ गतेदेखि देशभरका आङ्गिक शिक्षालयमा चरणबद्ध रूपमा आन्दोलनका कार्यक्रम सञ्चालन गर्दा पनि व्यवस्थापनले कर्मचारीका माग सम्बोधन गर्न चासो नदेखाएकाले पूर्वघोषित कार्यक्रमअनुसार केन्द्रीय कार्यालय घेराउ गरिएको बताए।
उनले कर्मचारीका माग वार्ता र संवादमार्फत तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिए। समान कामका लागि समान ज्याला, स्थानीय तथा दुर्गम भत्ता, सामाजिक सुरक्षा र पेशागत स्थायित्वलगायत माग तत्काल सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउने संकेतसमेत कर्मचारी पक्षले गरेको छ।







