सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मीको सामूहिक श्रमदानमा अस्थायी तटबन्ध

User Image Prime TV News एक महिना अगाडि
Image of सुस्ता जोगाउन स्थानीय र सुरक्षाकर्मीको सामूहिक श्रमदानमा अस्थायी तटबन्ध

काठमाडौ । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको बहाव बढेसँगै डुबान र कटानको जोखिम बढेपछि स्थानीयवासी र सुरक्षाकर्मी सामूहिक श्रमदानमार्फत अस्थायी तटबन्ध निर्माणमा जुटेका छन्।

नदीको पानी बस्तीमा पस्न नदिन स्थानीयवासीले बोरामा बालुवा तथा माटो भरेर नदी किनारमा राख्दै अस्थायी बाँध निर्माण गरिरहेका छन्। सुस्ता गाउँपालिका–५ अन्तर्गत सुस्ता थारुटोलदेखि सीमास्थलका रूपमा चिनिने सिमलको रुख आसपासको क्षेत्रमा बुधबारदेखि स्थानीयवासीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी तटबन्ध निर्माणमा खटिएका छन्।

बोरामा बालुवा भरेर नाइलनको डोरीले बाँध्दै नदीको बहाव नियन्त्रण गर्ने प्रयास भइरहेको छ। बाढी तथा कटानको जोखिम न्यूनीकरणका लागि स्थानीय समुदाय नै अग्रसर भएर अस्थायी संरक्षणको काम अघि बढाएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जैसवालले बताए।

उनका अनुसार स्थानीयवासी र तीनवटै सुरक्षा निकायको सहयोगमा २४ सै घण्टा तटबन्ध निर्माणको काम भइरहेको छ। ‘अहिले हाम्रो पहिलो प्राथमिकता गाउँलाई डुबान र नदी कटानबाट जोगाउनु हो,’ उनले भने, ‘स्थायी समाधान नहुँदासम्म स्थानीयकै श्रम र उपलब्ध साधन प्रयोग गरेर अस्थायी बाँध निर्माण गरिरहेका छौँ।’

केही दिनअघि स्थानीयवासीले निर्माण गरेको यस्तै अस्थायी तटबन्ध भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भत्काइदिएको आरोप सार्वजनिक भएपछि सुस्ताको समस्या थप चर्चामा आएको थियो। त्यसपछि स्थानीय, प्रशासन र सम्बन्धित निकायबीच पटक–पटक छलफल भएपछि तत्कालका लागि अस्थायी संरक्षणको काम अघि बढाइएको हो।

यसअघि नारायणी सिँचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन आयोजना, भरतपुरले ठेक्का प्रक्रियामार्फत स्थायी तटबन्ध निर्माण सुरु गर्ने तयारी गरेको थियो। तर, भारतीय पक्षले माथिल्लो तहको स्वीकृति आवश्यक पर्ने जनाउँदै निर्माणमा अवरोध गरेको स्थानीयको भनाइ छ। त्यसपछि स्थायी संरचना निर्माण रोकिएको र तत्कालका लागि अस्थायी तटबन्धलाई प्राथमिकता दिइएको हो।

सुस्तामा बढ्दो जोखिमलाई ध्यानमा राख्दै नारायणी सिँचाइ तथा नेपाल गण्डक पश्चिम नहर सिँचाइ व्यवस्थापन कार्यालयले अस्थायी तटबन्ध निर्माणका लागि बोरा र नाइलनको डोरी उपलब्ध गराएको छ। स्थानीयवासीले सरकारी निकायबाट प्राप्त सामग्रीसँगै आफ्नै स्रोतबाट समेत बोरा, बालुवा र डोरीको व्यवस्था गरी निर्माणलाई तीव्रता दिएका छन्।

प्रवक्ता जैसवालका अनुसार नारायणी नदीको बहाव अझ बढ्ने सम्भावना रहेकाले तटबन्ध निर्माणलाई निरन्तरता दिइएको छ। आवश्यक परे थप श्रम र सामग्री परिचालन गरेर बस्ती सुरक्षित बनाउने तयारी गरिएको उनले बताए।

नारायणी नदीको कटान र डुबानका कारण सुस्ता क्षेत्र बर्सेनि प्रभावित हुँदै आएको छ। स्थानीयवासीले लामो समयदेखि दीर्घकालीन तटबन्ध निर्माणको माग गर्दै आएका छन्। उनीहरूका अनुसार अस्थायी बाँधले तत्कालका लागि केही राहत दिए पनि स्थायी तटबन्ध निर्माण नभएसम्म हरेक वर्ष वर्षायाममा बस्ती जोखिममा पर्ने अवस्था दोहोरिरहनेछ।

स्थानीयवासीले सीमावर्ती क्षेत्रमा देखिएका प्राविधिक तथा प्रशासनिक जटिलता समाधान गर्दै नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय गरी दीर्घकालीन तटबन्ध निर्माणको काम शीघ्र अघि बढाउन सरकारसँग आग्रह गरेका छन्।