कांग्रेस एकताका लागि अग्रसर हुन सभापति थापालाई पूर्णबहादुर खड्काको आग्रह
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका निवर्तमान सभापति पूर्णबहादुर खड्काले पार्टीको सम्पूर्ण एकताका लागि सभापति गगन थापालाई अग्रसर हुन आग्रह गरेका छन्।
खड्काले सामाजिक सञ्जालमार्फत अपिल सार्वजनिक गर्दै पार्टी एकताका लागि निर्णायक भूमिका सभापति थापाकै रहेको बताएका हुन्। ‘पार्टी सभापति गगन थापाजीसँग मेरो विशेष आग्रह र अनुरोध छ– तपाईं हिम्मत र साहसका साथ तत्काल पार्टीको सम्पूर्ण एकताका लागि अग्रिम मोर्चामा अग्रसर हुनुस्। हामी अरू सबै यसका लागि सहयोगी हौँ र बन्छौँ, तर यहाँनिर स्पष्ट हुन जरूरी छ– निर्णायक तपाईं हो, तपाईं,’ उनले भनेका छन्।
खड्काले पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएपछि सामाजिक सञ्जालमा कांग्रेसकै नेताकार्यकर्ताबाट आएका टिप्पणीले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन्।
उनले मुलुकको राष्ट्रियता प्रतिकूल र संकटापन्न अवस्थामा रहेको तथा लोकतान्त्रिक संविधानमाथि चुनौती उत्पन्न भइरहेको अवस्थामा कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको दाबी गरेका छन्। यस्तो अवस्थामा पार्टीको सम्पूर्ण एकता पहिलो अपरिहार्य आवश्यकता भएको उनको भनाइ छ।
पार्टीभित्र सहिष्णुता, संवेदनशीलता र सहअस्तित्वको भावना विकास गरी संवाद र सहमतिमार्फत सुदृढ एकता कायम गर्नुपर्ने खड्काले बताएका छन्। व्यक्तिगत महत्वाकांक्षा, अहंकार, घमण्ड, प्रतिशोध र कुण्ठाबाट मुक्त भएर सामूहिक भावनाका साथ पार्टी एकताका लागि निर्णायक पहल गर्न उनले नेताकार्यकर्तालाई आग्रह गरेका छन्।
सर्वोच्च अदालतको पूर्ण इजलासले पुनरावलोकनका लागि दिएको निस्सालाई पार्टी एकता गर्ने ‘अन्तिम अवसर’ का रूपमा लिनुपर्ने उनको अपिलमा उल्लेख छ। खड्काले पार्टी र भ्रातृ तथा शुभेच्छुक संस्थाका सबै तहका नेता तथा कार्यकर्तालाई पनि एकताका लागि वातावरण बनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमा हुने आरोप–प्रत्यारोप तथा गालीगलौजले पार्टी एकता सम्भव नहुने भन्दै उनले यस्तो प्रवृत्ति अन्त्य गर्न सबैसँग आग्रह गरेका छन्।
गत पुसमा भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष सहभागी भएको थिएन। देउवा पक्षले आगामी साउन २९ देखि ३१ गतेसम्म राष्ट्रिय भेला गर्ने तयारीसमेत गरेको छ।







