एमाले–नेकपा सहमति कार्यान्वयनमा कोशीमा अलमल, कांग्रेस मन्त्री हटाउने विषय पेचिलो
Prime TV News एक महिना अगाडि 
विराटनगर । एमाले र नेकपाबीच केन्द्रमा भएको तीनबुँदे सहमति कार्यान्वयनमा कोशी प्रदेशमा अलमल देखिएको छ।
मुख्यमन्त्री परिवर्तनको विषय तत्कालका लागि टरे पनि एमालेभित्रको आन्तरिक असमझदारीका कारण कांग्रेस तत्काल सरकारबाट बाहिरिने अवस्था देखिएको छैन। कांग्रेसका मन्त्रीहरू सरकारमै रहेकाले नेकपालाई प्रदेश सरकारमा सहभागी गराउन एमालेले सकेको छैन।
गठबन्धनका दुई दलबीच शुक्रबारसम्म नेकपाबाट मन्त्री नियुक्त गर्ने सहमति भए पनि कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिँदा सहमति कार्यान्वयनमा बाधा पुगेको एक नेताले बताए। ‘एमालेको आन्तरिक समस्याका कारण कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छैनन्।
मुख्यमन्त्रीले हट भन्न सक्नुभएन। राजीनामा गराउने विषयमा पनि पहल नगरेकाले तीनबुँदे सहमति कार्यान्वयनमा समस्या भएको छ,’ ती नेताले भने। हाल कोशी प्रदेश सरकारमा कांग्रेसबाट एक राज्यमन्त्रीसहित पाँच जना मन्त्री छन्। कांग्रेस संसदीय दलका नेता उद्धव थापाले भने बिहीबार नै केही दिनभित्र कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने बताएका थिए।
एमाले–नेकपाका नेताबीच बैठक हुँदै
सरकार पुनर्गठनबारे छलफल गर्न आज एमाले र नेकपाका प्रदेश संसदीय दलका नेता तथा पार्टी नेतृत्वबीच बैठक बस्दैछ। बैठकमा मन्त्रालय बाँडफाँटसहित सरकार पुनर्गठनका विषयमा छलफल हुने नेकपा संसदीय दलका नेता इन्द्र आङ्बोले बताए।
एमाले सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले दुई दलबीच औपचारिक सहमति जुटाएर सरकार पुनर्गठनको प्रक्रिया अघि बढाइने बताए। ‘पहिला हाम्रा बीचमा सहमति जुटाउँ, त्यसपछि कांग्रेसका विषयमा कुरा गरौँला,’ राईले भने।
गठबन्धनका दुई दलबीच सहमति भएपछि कांग्रेसका मन्त्रीहरूले राजीनामा दिने विश्वाससमेत राईले व्यक्त गरेका छन्।







