नेपाल–भारत सम्बन्ध थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन र राजदूत श्रीवास्तवबीच छलफल, प्रधानमन्त्री शाहलाई मोदीको शुभकामना

User Image Prime TV News एक महिना अगाडि
Image of नेपाल–भारत सम्बन्ध थप गहिरो बनाउने विषयमा प्रधानमन्त्री बालेन र राजदूत श्रीवास्तवबीच छलफल, प्रधानमन्त्री शाहलाई मोदीको शुभकामना

काठमाडौ । प्रधानमन्त्री वालेन्द्र शाहसँग सोमबार एकल भेट गरेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारत–नेपालबीचको सुदृढ तथा बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा छलफल भएको बताएका छन्।

भेटवार्तामा अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भएको राजदूत श्रीवास्तवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री शाहलाई शुभकामनासमेत व्यक्त गरेको बताएका छन्।

‘आज बिहान नेपालको सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेट्न पाउँदा सम्मानित महसुस भयो। प्रधानमन्त्री नरेन्द्र मोदीज्यूका तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेँ। भारत–नेपालबीचको सुदृढ र बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने विषयमा उहाँसँग अर्थपूर्ण र रचनात्मक विचार आदानप्रदान भयो,’ उनले भनेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार भेटवार्ताका क्रममा नेपाल–भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको थियो। प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा दुई देश मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।