प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोध, प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौ । प्रतिनिधिसभाको सोमबारको बैठकमा विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।

सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन्।

गत जेठ १७ गते प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभा बैठकमा भारतले नेपालको भूमि मिचेको भन्ने आशयको अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले निरन्तर संसद् बैठकमा उठेर विरोध गर्दै आएका छन्।

विपक्षी दलहरूले प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिप्रति स्पष्टीकरण माग गर्दै आएका छन्। तर, हालसम्म प्रधानमन्त्री शाहले उक्त विषयमा प्रतिनिधिसभामा स्पष्टीकरण दिएका छैनन्। त्यसैगरी, प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउन सभामुख अर्यालले संसद् सचिवालयलाई निर्देशनसमेत दिएका छैनन्।

यही विषयलाई लिएर विपक्षी दलहरूले बैठकमा विरोध जनाउँदै आएका हुन्।