एमाले सांसद घतानीको प्रश्नः ‘नागरिकले राज्यको उपस्थिति कहिले महसुस गर्ने ?’
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा एमालेकी सांसद निता घतानीले सरकारप्रति असन्तुष्टि जनाउँदै नागरिकले राज्यको उपस्थिति र अनुभूति कहिले गर्ने भन्ने प्रश्न उठाएकी छन्।
सांसद घतानीले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्को रोस्ट्रमबाट नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिएको भन्दै त्यसको आधार र प्रमाणबारे प्रश्न गरिन्। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति कुन तथ्य, प्रमाण र कूटनीतिक आधारमा आएको हो भन्ने स्पष्ट पार्न माग गरिन्।
‘सीमा कुनै राजनीतिक मजाक होइन,’ भन्दै घतानीले नेपालको भूगोल, सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर बोल्नुपर्ने बताइन्। सत्ता र पद स्थायी नभए पनि नेपाल स्थायी रहेको उल्लेख गर्दै उनले सत्ता पक्षका सांसदहरूलाई समेत गलत अभिव्यक्तिको बचाउ गर्नुभन्दा नेपालको भूगोल र राष्ट्रिय हितको पक्षमा उभिन आग्रह गरिन्।
घतानीले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याएर संसद्को अभिलेखबाट हटाउन माग गरिन्। साथै, ग्यासको अभाव तत्काल समाधान गर्न तथा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइन्।
त्यसैगरी, सहकारीपीडितको बचत फिर्ताको सुनिश्चितता, किसानलाई मल र बजारको व्यवस्था, युवालाई रोजगारी तथा व्यापारीलाई सुरक्षित व्यावसायिक वातावरण उपलब्ध गराउन उनले सरकारसँग माग गरिन्।
राहदानी, सवारी चालक अनुमतिपत्र (लाइसेन्स) तथा अस्पतालमा देखिने लामो लाइनको समस्या पनि तत्काल समाधान गर्नुपर्ने उनको भनाइ थियो। सुकुम्बासी, सहकारीपीडित, किसान, शिक्षक, व्यापारी, युवा र बिरामीका साझा समस्यातर्फ सरकारको ध्यानाकर्षण गराउँदै घतानीले प्रश्न गरिन्, ‘हामीलाई कहिले देख्छौ ? राज्य छ भन्ने अनुभूति नेपाली नागरिकले कहिले गर्ने ?’







