दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति अनुसन्धानमा अख्तियार
Prime TV News एक महिना अगाडि 
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव तथा उनीहरूका परिवारको सम्पत्ति अनुसन्धान सुरु गरेको छ।
आयोगले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव रहेका भानु देउवा तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका स्वकीय सचिव रहेकी छोरी गंगा दाहालको परिवारको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको हो।
अख्तियारसम्बद्ध उच्च स्रोतका अनुसार भानु देउवाको सम्पत्ति विस्तृत अनुसन्धानका लागि ‘१३ पाने फारम’ भराइसकिएको छ। आयोगमा परेको उजुरीका आधारमा अनुसन्धान अधिकृत तोकेर उनको परिवारका नाममा रहेको सम्पत्तिको छानबिन सुरु गरिएको स्रोतले जनाएको छ।
अनुसन्धानका क्रममा भानु देउवा र उनको परिवारका बैंक खाता, जग्गा तथा शेयरलगायत सम्पत्तिको विवरण संकलन भइरहेको बताइएको छ। त्यसैगरी, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको पछिल्लो कार्यकालमा स्वकीय सचिव रहेकी गंगा दाहाल र उनका पति जीवन आचार्यको सम्पत्तिमाथि समेत एकसाथ अनुसन्धान अघि बढाइएको अख्तियारसम्बद्ध स्रोतले जनाएको छ।
आचार्य कोशी प्रदेशसभाका सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वमन्त्री हुन्। परिवारका सदस्यको सम्पत्ति अनुसन्धानका क्रममा उनीसमेत अनुसन्धानको दायरामा आएको स्रोतको भनाइ छ। ‘उनीहरूको अनुसन्धान भने भानु देउवाको तुलनामा अलि अगाडि बढेको छ। केही सम्पत्तिको स्रोत खुलाउन थप ताकेता गर्ने काम भइरहेको हो,’ अख्तियारसम्बद्ध स्रोतले जनाएको छ।
यसअघि अख्तियारले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यको सम्पत्तिमाथि समेत अनुसन्धान सुरु गरेको थियो। बज्राचार्यलाई अख्तियारले टंगालस्थित कार्यालयमा बोलाएर सम्पत्ति विवरण भराएको थियो।







