संसद्को गतिविधि ‘कर्मकाण्डी’ भयो : रास्वपा सांसद आचार्य
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विपिन आचार्यले संसद्को गतिविधि ‘कर्मकाण्डी’ बनेको टिप्पणी गर्दै संसदीय अभ्यास सुधारका लागि छुट्टै समिति गठन गर्न प्रस्ताव गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका महामन्त्रीसमेत रहेका आचार्यले अहिलेको संसदीय अभ्यासबाट सांसदहरू स्वयं सन्तुष्ट छन् कि छैनन् भन्ने विषयमा सर्वेक्षण गर्नुपर्ने बताए। ‘मैले धेरै पटक यो संसदीय अभ्यास कर्मकाण्डी भयो भन्दै आएको छु।
संसद्मा पनि बोलेको छु, बाहिर पनि बोलेको छु। अब एक पटक सबै सांसदहरूबीच सर्वेक्षण गर्नुपर्छ। हामी सबै सांसदहरू अहिलेको संसदीय अभ्यासबाट खुसी छौँ त ?’ उनले प्रश्न गरे। उनले अहिलेको संसदीय अभ्यासबाट सांसदहरूको क्षमता र दक्षताको पूर्ण सदुपयोग भइरहेको छ कि छैन भन्ने विषयमा समेत समीक्षा आवश्यक रहेको बताए।
आचार्यले संसदीय अभ्यासलाई प्रभावकारी बनाउन सबै दल र सांसद मिलेर काम गर्नुपर्नेमा जोड दिए। ‘यो संसदीय अभ्यास सुधारका लागि सबैले मिलेर काम गर्नुपर्छ। मिल्छ कि मिल्दैन मलाई थाहा छैन, तर एउटा संसदीय सुधार समिति बनाएर अहिलेको सांसदलाई प्रभावकारी बनाउनेबारे काम गर्नुपर्छ,’ उनले भने।
संसदीय सुधार समिति गठन गरी संसद्को कामकारबाहीलाई थप प्रभावकारी बनाउनुपर्ने प्रस्ताव आफूले सभामुखसमक्ष राखेको उनले बताए।







