नेपालको हितलाई केन्द्रमा राखेर सन्धि–सम्झौता पुनरावलोकन गर्छौँ : परराष्ट्रमन्त्री खनाल
Prime TV News एक महिना अगाडि 
काठमाडौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको हितलाई केन्द्रमा राख्दै आवश्यकता अनुसार द्विपक्षीय तथा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री खनालले अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलनअनुसार सन्धि–सम्झौताको पुनरावलोकन सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थाको आपसी सहमति र स्वीकृतिमा निर्भर रहने स्पष्ट पारे।
नेपालको हितलाई ध्यानमा राखेर सम्बन्धित मित्रराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग सहकार्य गर्दै उपयुक्त समयमा सन्धि–सम्झौताको पुनरावलोकन गरिने उनले बताए। ‘सन्धिसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको सामान्य सिद्धान्तबमोजिम कुनै पनि द्विपक्षीय वा बहुपक्षीय सन्धि–सम्झौताको पुनरावलोकन, परिमार्जन वा नवीकरण सम्बन्धित पक्षराष्ट्र वा अन्तर्राष्ट्रिय सङ्घसंस्थाको समेत आपसी सहमति र स्वीकृतिमा निर्भर रहने अन्तर्राष्ट्रिय कानुन र कूटनीतिक प्रचलन छ,’ मन्त्री खनालले भने।
सरकारले आवश्यकताअनुसार सम्बन्धित मित्रराष्ट्र तथा संस्थासँग सहकार्य गरी नेपालको हितलाई केन्द्रमा राखेर सन्धि–सम्झौताको पुनरावलोकन गर्ने उनले बताए। उनका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, परराष्ट्र मन्त्रालय तथा सम्बन्धित अन्य मन्त्रालयको अधिकार क्षेत्रभित्र रहेका सन्धि–सम्झौताको समीक्षा भइरहेको छ।
सम्बन्धित पक्षराष्ट्र तथा अन्तर्राष्ट्रिय संस्थासँग कूटनीतिक माध्यमबाट वार्ता अघि बढाउने र पारस्परिक सहमति भएका सन्धि–सम्झौतालाई अन्तिम रूप दिने कामसमेत भइरहेको मन्त्री खनालले जानकारी दिए। ‘मन्त्रालयले उक्त कार्यलाई व्यवस्थित, प्रभावकारी र समयसापेक्ष बनाउन आधार र प्राथमिकताका साथ कार्य अगाडि बढाइरहेको छ,’ उनले भने।
उपलब्ध जनशक्ति, साधनस्रोत र प्राथमिकताका आधारमा वार्षिक कार्ययोजना बनाएर सन्धि–सम्झौताको समीक्षा तथा त्यसको प्रगति नियमित रूपमा अघि बढाइरहेको पनि उनले जानकारी दिए।







