लघुवित्त पीडितको ‘राजधानी मार्च’को १६औँ दिनमा, सरकारसंग वार्ता सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of लघुवित्त पीडितको ‘राजधानी मार्च’को १६औँ दिनमा, सरकारसंग वार्ता सुरु

काठमाडौ । लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन, नेपालले सुरु गरेको ‘राजधानी मार्च’को १६औँ दिन सोमबार सरकार र आन्दोलनरत पक्षबीच वार्ता सुरु भएको छ।

आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएपछि सरकारले पीडित पक्षलाई वार्ताका लागि आह्वान गरेको हो। अभियन्ता लक्ष्मी घिमिरेका अनुसार हाल सरकारी टोली र आन्दोलनरत लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलनका प्रतिनिधिबीच वार्ता भइरहेको छ।

गत साउन १० गते बल्खुबाट सिंहदरबारतर्फ अघि बढेको पीडितहरूको मार्चपासलाई प्रहरीले शान्तिबाटिकामा रोकेको थियो। त्यसै राति प्रहरीले आन्दोलनकारीलाई थापाथलीस्थित राम मन्दिर धर्मशालामा पुर्‍याएर अलपत्र छाडेको आन्दोलनकारीहरूको गुनासो छ।

त्यसयता पीडितहरूले शान्तिबाटिकामा निरन्तर धर्ना तथा मार्चपास गर्दै आएका छन्। लामो समयदेखि सडक आन्दोलनमा रहेका कतिपय आन्दोलनकारीको स्वास्थ्य अवस्था बिग्रँदै गएको बताइएको छ। भोक, निद्रा र प्यासको बेवास्ता गर्दै आन्दोलनमा सहभागी भएका महिला तथा अन्य आन्दोलनकारी ज्वरो, पखाला र न्यून रक्तचापलगायत स्वास्थ्य समस्याबाट प्रभावित भएका छन्।

आन्दोलनकारीहरूले यसअघि सरकारले लघुवित्त पीडितको अर्को समूहसँग वार्ता गरी घर पठाए पनि आफूहरूको समस्याप्रति निरन्तर बेवास्ता गरेको आरोप लगाउँदै आएका थिए। दुवै पक्षसँग वार्ता गरी समस्याको ठोस समाधान खोज्नुपर्ने माग गर्दै उनीहरूले आन्दोलन थप कडा बनाउने चेतावनी दिएका थिए।

सोही चेतावनीपछि सरकारले वार्ताका लागि तयार भएको आन्दोलनकारी पक्षको भनाइ छ। किसान मजदुर आन्दोलनका संयोजक रमेश सेन्चुरीको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ। टोलीमा पुनम कुमारी महतो, बिमला गजमेर, जोगेन्द्र यादव, दामोदर ढकाल र सुरेश घिमिरेलगायत छन्।

आन्दोलनरत पक्षले वार्ताबाट आफ्ना मागको ठोस र स्थायी समाधान नआएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।