कांग्रेसलाई एकढिक्का बनाउन प्रयासरत छौँ : संस्थापनइतर समूहका नेता

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसलाई एकढिक्का बनाउन प्रयासरत छौँ : संस्थापनइतर समूहका नेता

काठमाडौ । नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेताहरूले पार्टीलाई एकढिक्का बनाउन आफूहरूले प्रयास गरिरहेको बताएका छन्।

कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले सोमबार काठमाडौंमा आयोजना गरेको युवा भेलामा बोल्दै उनीहरूले पार्टीभित्र सबै पक्षलाई समेटेर एकताबद्ध बनाउने प्रयास भइरहेको बताएका हुन्। कार्यक्रममा कांग्रेस नेता डा. शशांक कोइरालाले विरोधी वा अन्य नेताहरूलाई गालीगलौज गर्नुको साटो मौन रहनु वा उपेक्षा गर्नु नै ठूलो जवाफ हुने धारणा राखे।

पार्टीभित्र सबैलाई समावेश गरी एकताबद्ध बनाउनु नै मुख्य प्राथमिकता रहेको बताउँदै उनले सबैको हातेमालो आवश्यक रहेको बताए। संघर्षपूर्ण इतिहास बोकेको कांग्रेस अझ निखारिँदै जाने र देशको भविष्य कांग्रेसमै सुरक्षित रहने उनको भनाइ थियो।

कांग्रेस नेता प्रकाशमान सिंहले पार्टीलाई समग्र रूपमा एकताबद्ध बनाउन १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट आएको समितिलाई एउटै ठाउँमा ल्याउनुपर्ने बताए। तीन दिने राष्ट्रिय भेला कुनै व्यक्तिको पदका लागि नभई पार्टीको आन्तरिक सुदृढीकरण र एकताका लागि आयोजना गरिएको उनले स्पष्ट पारे।

त्यस्तै, कांग्रेस नेता कृष्ण सिटौलाले सर्वोच्च अदालतले पार्टी एकताको बाटो खोलिदिएको भन्दै अब संयमित, धैर्य र उत्साहका साथ देशभर पुगेर आफ्ना धारणा राख्ने बताए। कांग्रेसका नेता तथा कार्यकर्ता व्यक्तिगत स्वार्थका लागि नभई देश र राष्ट्रको सेवा गर्ने भावनाले संगठित भएको उल्लेख गर्दै सिटौलाले विशेष महाधिवेशनबाट आएको नेतृत्वले अधिनायकवादी शैली अपनाएको आरोप लगाए।

कांग्रेस नेता मोहन बस्नेतले पार्टीलाई फुटाउन नभई थप बलियो, जाँगरिलो, ठूलो र सशक्त बनाउने तथा मुलुकको भविष्य हाँक्न सक्ने हैसियतको पार्टी निर्माण गर्ने अभियान चलाइएको बताए।

उनले साउन २८ गतेसम्म सभापति गगन थापाले निकास नदिए साउन २९ गतेदेखि पार्टीले नयाँ कार्यदिशा तय गरी नयाँ सुरुवात गर्न सक्ने चेतावनीसमेत दिए।