आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, अधिकांश भूभागमा बदली

User Image Prime TV News एक महिना अगाडि
Image of आज चार प्रदेशमा भारी वर्षाको सम्भावना, अधिकांश भूभागमा बदली

काठमाडौ । देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तर अर्थात् नेपाल नजिक र पूर्वी भूभागमा सरदर स्थान आसपास रहेको छ।

हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बदली रहेको छ। कोशी, वाग्मती र गण्डकी प्रदेशमा सामान्यतया बादल लागेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ।

लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

यसैगरी कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

आज राति हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा हुन सक्नेछ। तराईका एक–दुई स्थानमा पनि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

वर्षाका कारण पहाडी तथा तराई क्षेत्रका केही स्थानमा सडक यातायात, जनजीवन तथा स्थानीय खोलानालाको बहावमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।