विश्वकपको नयाँ छनोट संरचनाप्रति स्कटल्यान्ड र नेदरल्यान्ड्स असन्तुष्ट

User Image Prime TV News एक महिना अगाडि
Image of विश्वकपको नयाँ छनोट संरचनाप्रति स्कटल्यान्ड र नेदरल्यान्ड्स असन्तुष्ट

काठमाडौ । क्रिकेट स्कटल्यान्ड र रोयल डच क्रिकेट एसोसिएसन (केएनसीबी) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पुरुष एकदिवसीय विश्वकपको छनोट प्रक्रिया तथा प्रतियोगिताको संरचनामा गरेको परिवर्तनप्रति असन्तुष्टि जनाएका छन्।

दुवै क्रिकेट संघले संयुक्त विज्ञप्ति जारी गर्दै विश्वकप सुरु हुन १८ महिनाभन्दा कम समय बाँकी रहँदा प्रतियोगिताको संरचना परिवर्तन गर्नु चिन्ताजनक भएको बताएका छन्।

उनीहरूका अनुसार नयाँ व्यवस्थाले एसोसिएट सदस्य राष्ट्रको क्रिकेट विकासमा नकारात्मक असर पार्नुका साथै विश्वव्यापी क्रिकेट विस्तारका लागि पछिल्ला वर्षमा भएका प्रयासलाई कमजोर पार्न सक्छ।

संयुक्त विज्ञप्तिमा उदीयमान क्रिकेट राष्ट्रहरूलाई ठूला टोलीसँग खेल्ने अवसर घटाउनु विश्व क्रिकेट विस्तारको उद्देश्यसँग मेल नखाने उल्लेख गरिएको छ। नेपाल पनि स्कटल्यान्ड र नेदरल्यान्ड्ससँगै एसोसिएट क्रिकेटका प्रमुख सदस्य राष्ट्रमध्ये एक हो।

आईसीसीले गत जुलाईमा २०२७ को पुरुष एकदिवसीय विश्वकपको नयाँ संरचना सार्वजनिक गरेको थियो। दक्षिण अफ्रिका, जिम्बाब्वे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने प्रतियोगितामा विगतको विश्वकपमा जस्तै १४ टोली सहभागी हुनेछन्। तर, टोली छनोटदेखि प्रतियोगिताको अन्तिम चरणसम्म पुग्ने प्रक्रिया भने परिवर्तन गरिएको छ।

नयाँ संरचनाअनुसार विश्वकपको सुरुआतमा सबैभन्दा कम वरीयताका तीन टोलीबीच ‘सुपर सिरिज’ हुनेछ। तीन टोलीले एक–अर्काविरुद्ध खेल्नेछन् र शीर्ष स्थानमा रहने एउटा टोली मात्र मुख्य चरणमा प्रवेश गर्नेछ। बाँकी दुई टोली प्रतियोगिताबाट बाहिरिनेछन्।

स्कटल्यान्ड र नेदरल्यान्ड्सको मुख्य आपत्ति यही व्यवस्थाप्रति छ। उनीहरूका अनुसार यसले कम वरीयताका एसोसिएट राष्ट्रलाई विश्वकपमा ठूला तथा स्थापित टोलीसँग खेल्ने अवसरबाट वञ्चित गर्न सक्छ।

त्यसपछि मुख्य चरणमा बाँकी १२ टोलीलाई दुई समूहमा विभाजन गरिनेछ। प्रत्येक समूहमा ६ टोली रहनेछन् र राउन्ड रोबिन आधारमा प्रतिस्पर्धा हुनेछ। दुवै समूहका शीर्ष तीन टोली तथा समूहबाट बाहेक अर्को उत्कृष्ट टोली गरी सात टोली अर्को चरणमा पुग्नेछन्।

तेस्रो चरणमा सात टोलीबीच पुनः राउन्ड रोबिन खेल हुनेछ। त्यसबाट शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनलका विजेताबीच फाइनल खेल हुनेछ।

स्कटल्यान्ड र नेदरल्यान्ड्सले आफ्नो भविष्यमा प्रत्यक्ष असर पार्ने निर्णय लिनुअघि प्रभावित एसोसिएट सदस्य राष्ट्रसँग पर्याप्त परामर्श गर्न आईसीसीसँग माग गरेका छन्।

उनीहरूका अनुसार छनोट प्रक्रिया सुरु भइसकेपछि सम्बन्धित पक्षसँग परामर्श नगरी प्रतियोगिताको संरचना परिवर्तन गर्दा अनिश्चितता बढ्नुका साथै सीमित स्रोतसाधनमा सञ्चालन भइरहेका क्रिकेट संघलाई आर्थिक र व्यवस्थापकीय दबाब थपिन्छ।

दुवै संघका अनुसार संरचना परिवर्तनबारे आईसीसीसँग दुईपटक छलफल भइसकेको छ। ती बैठकमा उनीहरूले परिवर्तनको आधिकारिक लिखित जानकारी तथा निर्णय प्रक्रियाबारे थप स्पष्टता मागेका थिए।

त्यसैगरी एसोसिएट सदस्य राष्ट्रलाई फुल मेम्बर राष्ट्रसँग हुने द्विपक्षीय योजना बैठकमा सहभागी गराउन पनि आग्रह गरिएको उनीहरूले बताएका छन्।

तर दोस्रो बैठक सम्पन्न भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि आईसीसीबाट थप प्रतिक्रिया नआएको भन्दै दुवै क्रिकेट संघले असन्तुष्टि व्यक्त गरेका छन्।

विश्व क्रिकेटर्स संघले पनि यसअघि विश्वकपको नयाँ संरचनालाई लिएर प्रश्न उठाइसकेको छ। स्कटल्यान्ड र नेदरल्यान्ड्सले भने विश्व क्रिकेटको दीर्घकालीन विकासका लागि एसोसिएट राष्ट्रलाई अर्थपूर्ण अन्तर्राष्ट्रिय अवसर सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।