प्रतिनिधिसभा बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिनिधिसभा बैठक आज, खानी तथा खनिज पदार्थ विधेयकमाथि छलफल हुने

काठमाडौ । संघीय संसद्, प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दैछ।

बैठकमा ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले उक्त प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गर्ने कार्यसूची छ।

विधेयकमाथि सैद्धान्तिक छलफलपछि त्यसलाई थप प्रक्रियामा अघि बढाउने तयारी छ। यसैबीच, आज संघीय संसद्का दुई वटा संसदीय समितिको बैठक पनि बस्दैछ। संसद् सचिवालयका अनुसार सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक तय गरिएको छ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे बस्नेछ। बैठकमा २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन तथा घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल हुने कार्यसूची छ।

त्यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक पनि बिहान ११ बजे नै बस्दैछ। समितिमा डिजिटल अर्थतन्त्रका विषयमा छलफल गरिने संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा र संसदीय समितिका आजका बैठकमा विधेयक, सार्वजनिक सम्पत्तिसँग सम्बन्धित अभिलेख तथा डिजिटल अर्थतन्त्रजस्ता महत्वपूर्ण विषयमा छलफल हुने भएको छ।