दोस्रो नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि, ५५ ब्रान्डका ४० भन्दा बढी नयाँ सवारीसाधन प्रदर्शनमा

User Image Prime TV News एक महिना अगाडि
Image of दोस्रो नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि, ५५ ब्रान्डका ४० भन्दा बढी नयाँ सवारीसाधन प्रदर्शनमा

काठमाडौ । दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पो आजदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा हुने एक्स्पोको उद्घाटन मंगलबार बिहान ९ बजे हुनेछ।

साउन ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५२ वटा स्टलमा ५५ ब्रान्डका ४० भन्दा बढी नयाँ सवारीसाधन प्रदर्शनमा राखिने नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले जानकारी दिए।

एक्स्पोमा चारपांग्रे र दुईपांग्रे सवारीसाधनसँगै मोबिलिटी क्षेत्रसँग सम्बन्धित विभिन्न उत्पादन, प्रविधि तथा नयाँ अवधारणा प्रदर्शन गरिनेछ।

आयोजकले एक्स्पोलाई केवल सवारीसाधन प्रदर्शन गर्ने कार्यक्रमभन्दा माथि उठाउँदै नेपालको विकसित हुँदै गरेको मोबिलिटी इकोसिस्टम र भविष्यको यातायात प्रणालीबारे जानकारी आदानप्रदान गर्ने प्लेटफर्मका रूपमा विकास गर्ने लक्ष्य राखेको छ।

नेपालमा अटोमोबाइल प्रदर्शनीलाई व्यवसायीले नयाँ सवारीसाधन सार्वजनिक गर्ने, उपभोक्तालाई नयाँ मोडल तथा प्रविधिबारे जानकारी गराउने र दसैं–तिहारजस्ता ठूला चाडपर्वको बिक्रीका लागि बजार तयार गर्ने महत्वपूर्ण अवसरका रूपमा प्रयोग गर्दै आएका छन्।

यसपटक पनि नाइमा एक्स्पोले दसैं, तिहारलगायतका चाडपर्वअघि अटोमोबाइल बजारमा नयाँ उत्साह ल्याउने अपेक्षा गरिएको छ। व्यवसायीले एक्स्पोलाई लक्षित गर्दै नयाँ मोडल सार्वजनिक गर्ने तथा ग्राहक आकर्षित गर्न विभिन्न अफर, फाइनान्सिङ र एक्सचेन्ज योजनासमेत ल्याउने तयारी गरेका छन्।

विशेषगरी विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड प्रविधि र नयाँ अन्तर्राष्ट्रिय ब्रान्डको बढ्दो प्रवेशले यसपटकको एक्स्पोलाई थप प्रतिस्पर्धात्मक बनाउने अपेक्षा छ।

पछिल्लो समय नेपाली अटोमोबाइल बजारमा चिनियाँ, भारतीय तथा अन्य अन्तर्राष्ट्रिय ब्रान्डबीच प्रतिस्पर्धा बढेको छ। विशेषगरी ईभी सेग्मेन्टमा नयाँ ब्रान्ड र मोडल थपिँदै गएपछि उपभोक्ताका लागि विकल्पसमेत विस्तार भएका छन्।

यस्तो अवस्थामा नाइमा एक्स्पोले विभिन्न ब्रान्डलाई आफ्नो प्रविधि, डिजाइन र उत्पादन क्षमता प्रत्यक्ष रूपमा प्रस्तुत गर्ने अवसर दिनेछ। उपभोक्ताले पनि एउटै स्थलबाट बजारमा उपलब्ध विभिन्न सवारीसाधनको तुलना तथा जानकारी लिन सक्नेछन्।
कुन–कुन ब्रान्ड सहभागी हुँदैछन्?

एक्स्पोमा चारपांग्रे, दुईपांग्रे तथा व्यावसायिक सवारीसाधनका स्थापित र नयाँ ब्रान्डको उल्लेख्य सहभागिता रहनेछ।

चारपांग्रेतर्फ हुण्डाई, टाटा, टोयोटा, महिन्द्रा, म्याक्सस, किया, निसान, बीवाईडी, ओमोडा एन्ड जेको, हेन्सरी भोल्ट्स, फोर्थिङ, डेन्जा, काइ, होन्री बोमा, बेइक, आर्कफक्स, ग्रेट वाल मोटर्स, एमजी, जिकर, लिपमोटर, वुलिङ, एमजी–जीओ अटोमोबाइल, एमजी–पारामाउन्ट मोटर्स, सिट्रोन र आइकार लगायतका ब्रान्ड सहभागी छन्।

दुईपांग्रेतर्फ बजाज, होन्डा, टीभीएस, केटीएम, रोयल इन्फिल्ड, एथर, सुजुकी, याडिया, निउ, प्यूजो, बगाउस, अल्ट्राभ्वाइलेट, जेएक्स मोटो/सीएक्स मोटरसाइकल, केरेन, गारो, सीएफ मोटो र ट्रायम्फ लगायतका ब्रान्ड रहेका छन्।

त्यस्तै, व्यावसायिक सवारीसाधनतर्फ चेरी वान्डा, केरी, केयटन र स्काइवर्थका उत्पादन पनि एक्स्पोमा प्रदर्शन गरिनेछ।