वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधन

User Image Prime TV News एक महिना अगाडि
Image of वरिष्ठ साहित्यकार प्रा. डा. राजेन्द्र विमलको निधन

काठमाडौ । जनकपुर निवासी वरिष्ठ साहित्यकार तथा प्राध्यापक डा. राजेन्द्र विमलको निधन भएको छ।

७९ वर्षीय डा. विमलको गएराति उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको हो। छोरा विभास लाभका अनुसार राति घरमै नातिसँग खेलिरहेका बेला डा. विमलको स्वास्थ्यमा अचानक समस्या देखिएको थियो।

त्यसपछि उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो। उपचारका क्रममा अक्सिजनको मात्रा घट्दै गएपछि राति करिब १ बजे उनको निधन भएको परिवारले जनाएको छ।

उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि जनकपुर–१० स्थित देवीचोकमा रहेको निजी निवासमा राखिएको छ। उनको आजै स्वर्गद्वारीमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

डा. विमलले लामो समय अध्यापन पेसामा रहेर शिक्षा तथा साहित्य क्षेत्रमा योगदान पुर्‍याएका थिए। उनले विज्ञान विषयमा विद्यावारिधि गरेका थिए भने नेपाली, हिन्दी तथा अंग्रेजी विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका थिए।

बाल्यकालदेखि नै साहित्यप्रति रुचि राख्दै आएका उनले नेपाली तथा मैथिली साहित्यमा महत्वपूर्ण योगदान दिएका थिए। उनका विभिन्न कथा, नाटक तथा लघुकथा प्रकाशित छन्।

नेपाली तथा मैथिली भाषाको साहित्यिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै डा. विमललाई २०६६ सालको जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो।

उनको निधनले नेपाली तथा मैथिली साहित्य क्षेत्रले एक अनुभवी साहित्यकार र शिक्षाविद् गुमाएको छ।