रोहित पौडेललाई क्यानको धन्यवाद : ‘एक पटकको नेता, सधैँको नेता’

User Image Prime TV News एक महिना अगाडि
Image of रोहित पौडेललाई क्यानको धन्यवाद : ‘एक पटकको नेता, सधैँको नेता’

काठमाडौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको कप्तानी जिम्मेवारीबाट बिदा गरिएका रोहित पौडेललाई उनको योगदानका लागि धन्यवाद ज्ञापन गरेको छ।

क्यानले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धिहरू स्मरणीय रहने जनाएको हो। क्यानले नेपाली क्रिकेटको विकास, टोलीको प्रदर्शन सुधार तथा समर्थकका अपेक्षा पूरा गर्न रोहितले महत्वपूर्ण योगदान गरेको भन्दै उनको प्रशंसा गरेको छ।

‘धन्यवाद छ रोहित! राष्ट्रको आशालाई अगाडि बढाउँदै जोश, समर्पण र दृढ संकल्पका साथ नेपाली क्रिकेटको नेतृत्व गरेकामा,’ क्यानले लेखेको छ, ‘हाम्रो पुरुष राष्ट्रिय टोलीको कप्तानका रूपमा तपाईंको नेतृत्वमा हामीले उत्कृष्ट उपलब्धि हासिल गर्‍यौँ र नेपाल क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा रहने अविस्मरणीय पलहरू सिर्जना गर्‍यौँ।’

टोली, देश र खेलकुदप्रति रोहितको प्रतिबद्धता सधैँ प्रेरणादायी रहने क्यानले उल्लेख गरेको छ। क्यानले थप लेखेको छ, ‘हामीलाई विश्वास छ—तपाईंले आफ्नो यात्राभरि देखाउनुभएको जोश, गर्व र समर्पणका साथ नेपालको सेवा गरिरहनुहुनेछ। एक पटकको नेता, सधैँको नेता।’