रवि–बालेनले छरेका ‘भ्रमका पर्दा’ उघ्रिँदै छन् : शंकर पोखरेल

User Image Prime TV News एक महिना अगाडि
Image of रवि–बालेनले छरेका ‘भ्रमका पर्दा’ उघ्रिँदै छन् : शंकर पोखरेल

काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहले विगतमा जनतामाझ छरेका ‘भ्रमका पर्दा’ अहिले उघ्रिन थालेको बताएका छन्।

पोखरेलले सामाजिक सञ्जालमार्फत रवि र बालेनले विगतमा भ्रम र सपनाको खेती गरेको दाबी गर्दै उनीहरू सत्तामा पुगेपछि ती भ्रमका पर्दा उघ्रिन थालेको बताएका हुन्। ‘बालेन र रविहरूको हातमा सत्ताको बागडोर नपुगुञ्जेल राजनीतिक वृत्तमा अनेकौँ भ्रम र सपनाहरूको खेती तीव्र थियो,’ पोखरेलले लेखेका छन्, ‘तर, उनीहरू स्वयं सत्ताको कुर्सीमा पुगेपछि भने आमजनताका अगाडि भ्रमका पर्दाहरू उघ्रिँदै जाने र यथार्थ बुझ्ने उपयुक्त आधार तयार भएको छ।’

पोखरेलले लोकप्रियतावाद (पपुलिज्म) को वास्तविक क्षमता परीक्षण सत्ताको जिम्मेवारीमा पुगेपछि मात्रै हुने बताएका छन्। ‘पपुलिज्म (लोकप्रियतावाद) को वास्तविक क्षमता परीक्षण हुन सत्ताको जिम्मेवारीमै पुग्नुपर्ने रहेछ, यो नै वर्तमान परिस्थितिको सकारात्मक पक्ष हो,’ उनले लेखेका छन्।