प्रधानमन्त्री ओली र लाओसका राष्ट्रपति सुसौलिथबीच थियानजिनमा भेटवार्ता


काठमाडौं । सांघाई सहयोग संगठन प्लस शिखर सम्मेलनको अवसरमा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लाओसका राष्ट्रपति थोल्ङलौन सुसौलिथसँग भेटवार्ता गरेका छन्। थियानजिनस्थित मेइजियान सम्मेलन केन्द्रमा भएको भेटमा दुई देशबीचको आपसी सम्बन्धका विविध आयामहरूबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
प्रतिनिधिमण्डलसहित सम्पन्न उक्त भेटमा आपसी सहयोग विस्तारका सम्भावनाहरूमा कुराकानी गरिएको थियो। प्रधानमन्त्री ओली चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा भदौ १४ गतेदेखि पाँच दिने चीन भ्रमणमा छन्। भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले सम्मेलनमा सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटघाटको क्रम पनि जारी राखेका छन्।
आजै प्रधानमन्त्री ओलीले रूसका राष्ट्रपति भ्लादिमीर पुटिन र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताईएको छ । सम्मेलनमा सहभागी राष्ट्र प्रमुख तथा सरकार प्रमुखहरूले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।