नेप्से ओरालो लागेपछि सेबोनको सक्रियता, बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से ओरालो लागेपछि सेबोनको सक्रियता, बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता

काठमाडौ । लगातारको गिरावटका कारण नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २,६५० अंकको आसपास झरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजी बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता जनाएको छ।

नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको छलफलमा सेबोनका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हित संरक्षण र बजारमा पारदर्शिता कायम गर्नु बोर्डको प्रमुख प्राथमिकता रहेको बताएका हुन्।

भट्टले विद्यमान कानुनी जटिलताका कारण बजार सुधारका काम प्रभावित भइरहेकाले नयाँ धितोपत्र ऐन निर्माणलाई प्राथमिकतामा राखिएको बताए। ऐन निर्माणमा थप ढिलाइ भए आवश्यकताअनुसार अध्यादेशमार्फत भए पनि पुराना कानुनी समस्या समाधान गर्ने तयारी रहेको उनको भनाइ थियो।

सङ्घका उपाध्यक्ष भगवानबहादुर रावतको नेतृत्वमा महासचिव रविन कँडेलसहितको टोलीले बोर्डसमक्ष बजारमा देखिएका समस्या र साना लगानीकर्ताले भोग्नुपरेका जोखिमबारे ध्यानाकर्षण गराएको थियो।

रावतले नेपालको आर्थिक वृद्धिदर कमजोर रहेको अवस्थामा बैंकिङ प्रणालीमा पर्याप्त तरलता भए पनि उत्पादनमूलक क्षेत्रमा लगानी विस्तार हुन नसकेको बताए। बजारमा हल्ला र अफवाहका आधारमा हुने उतारचढावले सर्वसाधारण लगानीकर्ताको बचत जोखिममा परेको भन्दै उनले सेयर बजारलाई सीमित समूहको नाफा कमाउने माध्यम नभई अर्थतन्त्रको विकासमा योगदान गर्ने प्रभावकारी संयन्त्र बनाउनुपर्नेमा जोड दिए।

छलफलमा लगानीकर्ता प्रतिनिधिहरूले बजारमा हुने भनिएको भित्री कारोबार, कृत्रिम रूपमा मूल्य बढाउने–घटाउने गतिविधि तथा सामाजिक सञ्जालमार्फत फैलिने गलत सूचना नियन्त्रणमा नियामकको भूमिकामाथि प्रश्न उठाएका थिए।

जवाफमा अध्यक्ष भट्टले बजारको नियमन र लगानीकर्ता सचेतनाका काम अघि बढिसकेको बताए। उनले लगानीकर्तालाई कम्पनी तथा बजारको वास्तविक अवस्था अध्ययन गरेर मात्रै लगानी गर्न आग्रह गर्दै सचेतना कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

त्यसैगरी, सर्ट सेलिङ र इन्ट्राडे ट्रेडिङ लागू गर्ने विषयमा समेत बोर्डले तयारी अघि बढाएको अध्यक्ष भट्टले जानकारी दिए। आफूले यी विषयमा लामो समय अध्ययन, अध्यापन तथा कानुनी अभ्यास गरेको उल्लेख गर्दै उनले आवश्यक प्रक्रिया तीव्र गतिमा अघि बढिरहेको र लगानीकर्ताले निकट भविष्यमा यसको प्रयोग गर्न पाउने दाबी गरे।

बजारको आधुनिकीकरणका लागि सेबोनको आन्तरिक पूर्वाधार तथा संस्थागत क्षमता विस्तार गर्नुपर्ने आवश्यकता पनि छलफलमा औँल्याइएको थियो। सङ्घका महासचिव रविन कँडेलले भने नियामक निकाय आश्वासन र घोषणामा मात्र सीमित हुन नहुने बताए। बजारमा हुने अनियमिततामाथि प्रभावकारी अनुसन्धान तथा कडा कारबाही गर्नुपर्ने र नयाँ नेतृत्वले अघि सारेका सुधारका योजनालाई स्पष्ट समयसीमासहित कार्यान्वयन गर्नुपर्ने उनको माग थियो।

सङ्घले नयाँ धितोपत्र ऐनमा गैरजिम्मेवार वा गलत निर्णय गर्ने अधिकारीलाई व्यक्तिगत रूपमा जवाफदेही बनाउने व्यवस्था गर्नुपर्ने मागसमेत अघि सारेको छ। अनुचित रूपमा प्राप्त भएको नाफा फिर्ता गराउनेसहितका कडा कानुनी प्रावधान आवश्यक रहेको सङ्घको भनाइ छ।

त्यस्तै, सेबोनले गठन गर्ने विभिन्न अध्ययन तथा सुधार समितिमा सर्वसाधारण लगानीकर्ताको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ। बजारमा प्रयोग हुने T+1 र T+2 फर्स्योट प्रणालीका विषयमा उठेका गुनासो तथा साना लगानीकर्तामाथि पर्न सक्ने सम्भावित विभेदबारे स्पष्ट नीति आवश्यक रहेको सङ्घले जनाएको छ।

लगानीकर्ता सङ्घले सर्वसाधारणको बचत सुरक्षित हुन नसके पूँजी बजारप्रतिको विश्वास कमजोर हुने चेतावनी दिएको छ। बजार सुधारका विषयमा बोर्डले गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएसम्म नियामकप्रति पूर्ण विश्वास गर्ने अवस्था नरहेको प्रतिनिधिमण्डलको निष्कर्ष थियो।

नेप्से परिसूचक आफ्नो हालसम्मकै उच्च विन्दु ३,२२७ आसपासबाट करिब १८ प्रतिशत तल झरेको अवस्थामा लगानीकर्ताले नियामकसँग तत्काल बजार सुधार, प्रभावकारी अनुगमन र दोषीमाथि कडा कारबाहीको अपेक्षा गरेका छन्।