देउवा समूहको राष्ट्रिय भेला स्थगित भएको हल्ला, प्रचारको खण्डन

User Image Prime TV News एक महिना अगाडि
Image of देउवा समूहको राष्ट्रिय भेला स्थगित भएको हल्ला, प्रचारको खण्डन

काठमाडौ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले काठमाडौंमा आयोजना गर्न लागेको राष्ट्रिय भेला स्थगित भएको भन्ने प्रचारको खण्डन गरेको छ।

आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको नाम र हस्ताक्षरसहित कार्यक्रम स्थगित भएको दाबी गरिएको विज्ञप्ति सामाजिक सञ्जालमा फैलिन थालेपछि देउवा समूहले उक्त विज्ञप्ति आधिकारिक नभएको स्पष्ट पारेको हो।

देउवा समूहका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले राष्ट्रिय भेला पूर्वनिर्धारित मितिमै आयोजना हुने बताएका छन्। उनका अनुसार साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा हुने भेलाको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। विश्वकर्माले सामाजिक सञ्जालमा फैलाइएको विज्ञप्तिलाई ‘नक्कली’ भन्दै त्यसका आधारमा कुनै भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले प्रा.डा. शशांक कोइरालाको नेतृत्व, शीर्ष नेताहरूको समर्थन, सभापति शेरबहादुर देउवाको स्वदेश आगमन तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम सुनिश्चित भइसकेको अवस्थामा भेला रोकिएको हल्ला फैलाइएको बताए। विश्वकर्माका अनुसार भेलालाई प्रभावित पार्ने उद्देश्यले संयोजक कोइरालाको किर्ते हस्ताक्षरसमेत प्रयोग गरी झुटो विज्ञप्ति तयार पारिएको हो।

‘नक्कली विज्ञप्ति निकालेर भ्रम फैलाइएको छ। तोकिएकै समयमा हाम्रो कार्यक्रम हुन्छ,’ उनले भने।

उनले भेलाको तयारी नरोकिएको र निर्धारित कार्यक्रमअनुसार नै अघि बढिरहेको जानकारी दिए। सामाजिक सञ्जालमार्फत आफूहरूले आधिकारिक धारणा सार्वजनिक गरिसकेको भन्दै विश्वकर्माले गलत सूचनाको पछि नलाग्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन्।

देउवा समूहले भेला रोक्ने कुनै निर्णय नभएको स्पष्ट पारेसँगै सामाजिक सञ्जालमा फैलिएको स्थगनसम्बन्धी सूचनालाई गलत प्रचारका रूपमा लिएको छ।