एमालेमा पुनर्गठनको प्रतिवेदन अलपत्र, भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेमा पार्टी पुनर्गठन सम्बन्धी बहस चलिरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले भदौ दोस्रो सातासम्म केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेका छन्।
उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले तयार पारेको पार्टी पुनर्गठन सम्बन्धी मस्यौदा प्रतिवेदन ओलीले लामो समयदेखि अध्ययनका लागि ‘होल्ड’ गरेर राखेपछि त्यसलाई अन्तिम रूप दिनसमेत ढिलाइ भएको बताइएको छ।
ओली निकट स्रोतका अनुसार केन्द्रीय कमिटी बैठकअघि भदौ पहिलो साता सचिवालय बैठक बोलाउने विषयमा आन्तरिक छलफल भइरहेको छ। सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गर्ने सम्भावना रहेको स्रोतको भनाइ छ।
‘सम्भवतः भदौ दोस्रो साता केन्द्रीय कमिटी बैठक बोलाउने भन्ने अध्यक्षको भनाइ छ। त्यसअघि सचिवालय बैठक पनि बस्न सक्छ,’ ओली निकट एक पदाधिकारीले बताए। उनका अनुसार त्यसअघि अध्यक्ष ओलीले पार्टीका पदाधिकारीसँग समेत छलफल गर्नेछन्।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले पनि केन्द्रीय कमिटी बैठकको मिति सचिवालय बैठकले तय गर्ने बताएका छन्। उनका अनुसार सचिवालय बैठकको मिति भने अहिलेसम्म निश्चित भइसकेको छैन।
बादल नेतृत्वको कार्यदलले तयार पारेको पार्टी पुनर्गठनसम्बन्धी मस्यौदा प्रतिवेदन लामो समयदेखि अध्यक्ष ओलीसमक्ष रहेको बताइएको छ। ओलीले मस्यौदाका केही विषयमा असहमति जनाएपछि कार्यदलले त्यसलाई अन्तिम प्रतिवेदनका रूपमा टुंग्याउन नसकेको स्रोतको दाबी छ।
कार्यदलका सदस्यहरूले संयोजक बादललाई बैठक बोलाएर मस्यौदालाई अन्तिम रूप दिन आग्रह गर्दै आए पनि बैठक बस्न नसकेको एक सदस्यले बताए। ‘कार्यदल बैठक बोलाउन र प्रतिवेदनलाई अन्तिम रूप दिन संयोजकलाई सदस्यहरूले भनिरहेका छन्। तर अहिलेसम्म बैठक बोलाउने सुरसार भएको छैन,’ कार्यदलका एक सदस्यले बताए।
उनका अनुसार मस्यौदाका केही विषयमा अध्यक्ष ओलीको असन्तुष्टि देखिएपछि प्रतिवेदन प्रक्रिया नै रोकिएको हो।
कार्यदलका सदस्यसचिव रहेका महासचिव शंकर पोखरेलले मस्यौदा तयार गरेका थिए। पोखरेलले उक्त मस्यौदा संयोजक बादललाई अध्ययनका लागि दिएका थिए। त्यसपछि बादलले मस्यौदा अध्यक्ष ओलीसमक्ष बुझाएको बताइएको छ।
‘समग्र पार्टी पुनर्गठन’ शब्दमा ओलीको असहमति
स्रोतका अनुसार मस्यौदामा प्रयोग गरिएको ‘समग्र पार्टी पुनर्गठन’ भन्ने शब्दप्रति ओलीको असन्तुष्टि रहेको हुनसक्ने बताइएको छ।
पार्टी पुनर्गठनका क्रममा ओलीसहित केही शीर्ष नेताले नेतृत्वबाट बिदा लिनुपर्ने आवाज एमालेभित्र उठ्दै आएको छ। तर ओलीले गत मंसिरमा विधिसम्मत रूपमा महाधिवेशन सम्पन्न भएर नेतृत्व चयन भइसकेको भन्दै तत्काल नेतृत्व परिवर्तनको पक्षमा आफू नरहेको संकेत दिँदै आएका छन्।
ओलीले आफू निकट नेताहरूसँग ‘विधिसम्मत भएको महाधिवेशन र चयन भएको नेतृत्व कुबेलामा किन छाड्ने?’ भन्ने धारणा राख्दै आएको स्रोतको भनाइ छ।
यसबीच पार्टी पुनर्गठनको मस्यौदा, नेतृत्वको भविष्य र आगामी केन्द्रीय कमिटी बैठकलाई लिएर एमालेभित्रको राजनीतिक बहस थप पेचिलो बन्दै गएको छ। भदौमा बस्ने सम्भावित सचिवालय तथा केन्द्रीय कमिटी बैठकले पुनर्गठनसम्बन्धी प्रस्तावलाई कुन रूपमा अघि बढाउँछ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।







