पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ
Prime TV News एक महिना अगाडि 
काठमाडौ । पर्सामा प्रहरीले १०५ किलो गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय सउरु चौधरी रहेका छन्। लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति परिचालन भएको प्रहरी टोलीले चौधरीलाई पटेर्वा गाउँपालिका–३ सोनवर्षाबाट नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय पटेर्वा र ठोरीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद रूपमा बोरा बोकेर हिँडिरहेका चौधरीलाई रोकेर चेकजाँच गरेको थियो। त्यस क्रममा उनले बोकेको बोराभित्र प्लास्टिकबाहेक १०५ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यसअघि सोमबार साँझ पनि पर्सा प्रहरीले स्रोत नखुलेको ५२ लाख ५० हजार रुपैयाँसहित एक भारतीय र तीन नेपाली नागरिकलाई पक्राउ गरेको थियो।
पर्सामा पछिल्लो समय लागुऔषध तथा अवैध रकम ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी तथा कारबाही तीव्र बनाएको जनाएको छ।







