कांग्रेस इतरपक्षले देउवालाई कसरी स्वागत गर्दैछ विमानस्थलमा ?

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेस इतरपक्षले देउवालाई कसरी स्वागत गर्दैछ विमानस्थलमा ?

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतरपक्षले निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्कदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गर्ने तयारी गरेको छ।

विदेशमा रहेका देउवा यही साउन २८ गते दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको बताईएको छ। उनी विमानस्थलमा उत्रिएलगत्तै ठूलो संख्यामा नेता तथा कार्यकर्ता उपस्थित गराएर स्वागत गर्ने तयारी इतरपक्षले गरेको हो।

देउवाको स्वागत तथा त्यसको भोलिपल्ट आयोजना हुने राष्ट्रिय भेलाको तयारीका विषयमा इतरपक्षका नेताहरूले सोमबार दिनभर काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा छलफल गरेका थिए। स्वागतका लागि कांग्रेसका शीर्ष नेतासहित हजारौँ नेता–कार्यकर्ता विमानस्थलमा परिचालन गर्ने तयारी छ।

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका कार्यकर्तालाई समेत सहभागी गराउने जिम्मेवारी तरुण दलका पूर्वअध्यक्ष जितजंग बस्नेत र बागमती प्रदेशका पूर्वमन्त्री कुन्दन काफ्लेलाई दिइएको छ। विमानस्थलमा स्वागत गरेपछि नेता–कार्यकर्ताले देउवालाई धुम्बाराहीस्थित निवाससम्म स्कर्टिङ गर्ने तयारीसमेत गरेका छन्।

युवा तथा विद्यार्थी नेताहरूसँग समन्वय गरिरहेका काफ्लेका अनुसार देउवाको स्वागतमा करिब ५ हजार नेता–कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। काठमाडौं उपत्यकाका कांग्रेस नेता तथा कार्यकर्तालाई पार्टीको झण्डा र देउवाको तस्बिरसहित विमानस्थलमा उपस्थित हुन भनिएको छ। राष्ट्रिय भेलामा सहभागी हुन उपत्यका बाहिरबाट आउने नेता–कार्यकर्ता पनि देउवाको स्वागतमा सहभागी हुने काफ्लेले बताए।

इतरपक्षले साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्दैछ। भेलामा सहभागी हुन अधिकांश नेता–कार्यकर्ता साउन २८ गतेसम्म काठमाडौं आइपुग्ने तयारी छ। यसअघि जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा गत फागुन १३ गते उपचारका लागि सिंगापुर गएका थिए।

त्यसपछि थप उपचारका लागि चैत ७ गते सिंगापुरबाट हङकङ पुगेका उनी हाल थाइल्याण्डको बैंककमा रहेका छन्। देउवा बैंककबाट थाइ एयरवेजको उडानमार्फत साउन २८ गते काठमाडौं फर्कने कार्यक्रम रहेको बताइएको छ। यसैबीच, इतरपक्षले आयोजना गर्न लागेको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने वा नगर्ने भन्ने विषय भने अझै निश्चित भइसकेको छैन। यद्यपि, इतरपक्षका केही नेताहरूले देउवाले भेलालाई सम्बोधन गर्ने दाबी गर्दै आएका छन्।

देउवाको स्वदेश फिर्ती र त्यसको भोलिपल्ट हुने राष्ट्रिय भेलालाई कांग्रेसभित्र पछिल्लो समय देखिएको आन्तरिक शक्ति संघर्ष तथा संगठनात्मक बहसका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।