प्रतिनिधिसभा बैठकमा विपक्षी सांसदको विरोध, प्रधानमन्त्रीको अभिव्यक्तिमा अझै असन्तुष्टि
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधिसभाको मंगलबारको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका छन्।
सिंहदरबारस्थित संसद् भवनमा सभामुख डोलप्रसाद अर्यालले बैठक प्रारम्भ गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका हुन्।
विपक्षी दलहरूले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिलाई लिएर निरन्तर आपत्ति जनाउँदै आएका छन्। प्रधानमन्त्री शाहले उक्त बैठकमा भारतको भूमि नेपालले मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी सांसदहरूले त्यसबारे प्रधानमन्त्रीबाट स्पष्ट जवाफ मागिरहेका छन्।
तर, लामो समय बितिसक्दा पनि प्रधानमन्त्री शाहले उक्त अभिव्यक्तिबारे प्रतिनिधिसभामा औपचारिक स्पष्टीकरण दिएका छैनन्। त्यस्तै, विवादित अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउने विषयमा पनि सभामुख अर्यालले संसद् सचिवालयलाई निर्देशन दिएका छैनन्।
प्रधानमन्त्रीको अभिव्यक्तिबारे स्पष्ट जवाफ र आवश्यक प्रक्रिया अघि नबढेसम्म विरोध जारी राख्ने विपक्षी दलहरूको अडानका कारण प्रतिनिधिसभाको बैठकको वातावरण पुनः तनावपूर्ण बनेको छ।







